बागमती प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्ने भएका छन्।
प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार (आज) ललितपुरमा बसेको बैठकले प्रदेशका सबै जिल्लाहरूमा दुई दलीय संयन्त्र बनाउने निर्णय गरेको हो।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए।
बैठकले दुई दलले एक/एक महिना पालो/पालो बैठकको संयोजन गर्ने र २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने, संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने निर्णय गरेको उनले जानकारी दिए।
बैठकमा बागमती प्रदेश संसदीय दलका नेता एवं मूख्यमन्त्री बहादुर सिंह लामा, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो।

Shares

प्रतिक्रिया