बागमती


बागमतीका १३ जिल्लामा १६ लाख बढी भेडाबाख्रामा पीपीआर खोप लगाइँदै

बागमतीका १३ जिल्लामा १६ लाख बढी भेडाबाख्रामा पीपीआर खोप लगाइँदै

नेपालखबर
माघ २१, २०८१ सोमबार १९:१९, हेटौँडा

बागमती प्रदेशमा सप्ताहव्यापी अभियान नै सञ्चालन गरेर निःशूल्क पीपीआर खोप लगाइने भएको छ।

प्रदेशका १३ वटै जिल्लामा यही माघ २४ गतेदेखि सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको हो। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २४ गतेदेखि ३० गतेसम्म पीपीआर खोप अभियान सञ्चालन हुनेछ।

भेडाबाख्रामा लाग्ने हैजा रोग नियन्त्रण गर्ने उदेश्यले वर्षेनी पीपीआर खोप अभियान सञ्चालन हुँदै आएको छ। जस अन्तर्गत यो वर्ष १६ लाख ५० हजार २ सय भेडाबाख्रामा पीपीआरखोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता सुजन कडेँलले जानकारी दिए।

उनका अनुसार खोप अभियानका लागि संघीय सशर्त अनुदान मार्फत २३ लाख ६८ हजार १७३ डोज पीपीआर विरुद्धको खोप प्राप्त भएको छ।

खोपको उपलब्धता धेरै रहे पनि यो अभियानमा भने १६ लाख बढी मात्रै खोप लगाइने लक्ष्य मन्त्रालयले लिएको छ। यद्यपि, बाँकी खोप अभियान पश्चात् पनि लगाइने प्रवक्ता कडेँलले बताए। कुल प्राप्त खोपको ७० प्रतिशत डोज खोप लगाइने मन्त्रालयले जनाएको छ।

जिल्लास्थित पशु सेवा कार्यालयमार्फत पीपीआर खोप लगाइने मन्त्रालयले जनाएको छ। जसअन्तर्गत पशु सेवा कार्यालय, दोलखालाई १ लाख ९२ हजार ३२१ डोज पीपीआर विरुद्धको खोप उपलब्ध गराइएको प्रदेशस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।

यस्तै, पशु सेवा कार्यालय, मकवानपुरलाई ३ लाख २८ हजार, धादिङलाई ३ लाख ३४ हजार ८५७, चितवनलाई २ लाख १९ हजार ९५३ डोज पीपीआर विरुद्धको खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

यस्तै,  काभ्रे र सिन्धुपाल्चोकलाई ५ लाख ५२ हजार ५१ डोज, नुवाकोट र रसुवालाई २ लाख १९ हजार ७५८, रामेछाप सिन्धुलीलाई ४ लाख ६१ हजार ८९९ डोज र ललितपुर, भक्तपुर र काठमाडौंलाई १ लाख ३१ हजार ३३४ डोज खोप उपलब्ध भएको कृषि मन्त्रालयको तथ्यांक छ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा संघीय सशर्त अनुदान मार्फत ११ लाख ९० हजार डोज खोप प्राप्त भएकोमा प्रदेशका १३ जिल्लामा ८ लाख ३० हजार १८७ भेडाबाख्रामा पीपीआर विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा १२ लाख ६९ हजार डोज खोप प्राप्त भएकोमा ९ लाख ७९ हजार ९२९ डोज खोप लगाइएको बताइएको छ भने आर्थिक वर्ष २०८०/८१ मा १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा ११ लाख ९७ हजार ९७८ डोज खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।

विगतमा प्राप्त खोपको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको लागि खोप संख्या बढेर आएको पाइएको छ। यद्यपि, खोप लगाउन खटाइने भ्याक्सिनेटरलाई दिइने पारिश्रमिक अभावका कारण सबै खोप लगाउन नसकिने मन्त्रालयले जनाएको छ।

पीपीआर भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad