बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण अन्यौल बनेको छ।
आइतबार (आज) दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सत्तारुढ दलहरुबीच बजेटमै बिवाद हुँदा साँझ ६ः३० बजेसम्मका लागि स्थगित गरिएको थियो। दिनभर जसो अन्यौल बनेको बजेट भाषण तोकिएको समयमा अझै सुरु हुन सकेको छैन।
बजेटको बिवाद मिलाउन मुख्यमन्त्री बहादुर सिहं लामाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। सत्तामा रहेका दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरुबीच बजेटको आकारको बिषयमा बिवाद भएको हो।
उक्त बिवाद मन्त्रीपरिषद्को बैठकबाट टुङुग्याएर सदनमा बजेट प्रस्तुत गर्ने तयारी भैरहेको सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका लामिछानेका अनुसार हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरु जम्मा भएका छन्।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब भन्दा बढीको बजेट बनाएको भन्दै सत्तारुढ दल एमाले र कांग्रेसकै केही मन्त्रीहरुले उक्त बजेट स्वीकार्न नसकिने बताएको हो।
सत्तामै रहेको दलबीच बजेटमाथिको बिवाद सिर्जना भएपछि बजेटको आकार घटाउने तयारीमा जुटेको बताइएको छ। यसअघि बनाएको ७२ अर्बबाट ६८ अर्बमा झार्नका लागि मुख्यमन्त्री लामाले आर्थिक मामिला मन्त्री काफ्लेलाई निर्देशन दिएका छन्।
चालु आर्थिक वर्षको भन्दा २ अर्ब मात्रै बजेटको आकार बढाउन विपक्षी दलहरु र एमालेका मन्त्रीहरुले सुझाव दिएका थिए। तर अर्थ मन्त्री काफ्लेले आफ्नै बलबुतावमा बजेटको आकार बढाएको आरोप छ।
अब ४ अबै हाराहारीको बजेट घटाएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्ने बताइएको छ। मन्त्रिपरिषद् बैठक बस्न मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरु भने उपस्थित भैसकेका छन् भने अर्थमन्त्री काफ्लेलाई कुरिरहेको सरकारका प्रवक्ता लामिछानेले बताए।
Shares

प्रतिक्रिया