नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार बस्दै छ।
बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत रूपमा छलफल हुनेछ।
यसैगरी बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
हिजो (साउन १३ गते) मात्र त्यहाँका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस बागमती संसदीय दल नेताको हैसियत गुमाएका छन्।
आन्तरिक किचलोका कारण उनलाई संसदीय दलका बहुमत सदस्यले दलको नेताबाट हटाएका हुन्।
मंगलबार कांग्रेसको बागमती प्रदेश कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाका पक्षमा १५ मत मात्र परे भने विपक्ष अर्थात् उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसद इन्द्रबहादुर बानियाँका पक्षमा २२ सांसद उभिए।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सदस्य छन्। यसरी अल्पमतमा परेसँगै लामाले दलको नेता पद गुमाएका हुन्। अहिले उनलाई बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दबाब दिइरहेका छन्।
Shares

प्रतिक्रिया