बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै उनले चेपाङ सङ्ग जोडिएको चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती लगायतका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।
‘हामीले हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइदिँदैनन्। त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ, उनले भने।
मन्त्री श्रेष्ठले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गर्दै ८४ हजार ३३४ जनसंख्या भएका चेपाङमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्याङ्क गम्भीर भएको उल्लेख गरे। उनले भने, ‘यसलाई जोगाउन पर्यटन तथा संस्कृति मन्त्रालय निरन्तर सहयोग गर्नेछ।’
कार्यक्रमलाई ऐतिहासिक र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रदेश सरकारले डकुमेन्ट्री तयार गर्ने र विश्वसामु चेपाङको कला–संस्कृति प्रचार–प्रसार गर्ने तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए।
उनले प्रदेश सरकारले भदौ २२ गते चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइ चेपाङ समुदायलाई सम्मान गरेको स्मरण गराए।
कार्यक्रममा मन्त्रालयका सचीव दिपेन्द्र सुवेदीले बागमती प्रदेशभित्रका तमाम मूर्त तथा अमूर्त सम्पदाहरुलाई बचाउन संस्कृति तथा पर्यटन मन्त्रालय प्रतिबद्ध रहेको बताए।
उनले चेपाङको भाषा भावी पुस्ताले पनि सुन्न पाउने र त्यो पहिचान कायम राख्नका लागि संस्कृति तथा पर्यटन मन्त्रालय लागिपरेको स्पष्ट पारे।
‘चेपाङ समुदायलाई पर्यटनको हब बनाउन पनि हामी चाहन्छौँ। यहाँका सबै गतिविधिहरू, चाहे होमस्टे मार्फत होस्, चाहे यहाँहरुले जोगाइराख्नुभएको यहाँको सम्पदा अवलोकन गर्ने उद्देश्यले नै किन नहोस्, त्यसको हिसाबले हाम्रो तमाम चेपाङ समुदाय र हाम्रा बस्तीहरुमालाई हाम्रा पर्यटकहरुको हब बनाउन हामी प्रतिबद्ध छौँ’ उनले भने।
नेपाल चेपाङ चेपाङ संघका अध्यक्ष गोबिन्द चेपाङले अब चेपाङ समुदायको पहिचान र यसको प्रवर्द्धन गर्ने जिम्मा अब युवा पुस्ताले लिनुपर्ने बताए।
Shares

प्रतिक्रिया