बागमती


बागमतीमा तीन महिनामै १ हजारभभन्दा बढी नयाँ उद्योग दर्ता

बागमतीमा तीन महिनामै १ हजारभभन्दा बढी नयाँ उद्योग दर्ता

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार २१:३८, हेटौँडा

बागमतीमा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा १ हजार भन्दा बढी नयाँ उद्योग दर्ता भएका छन्। बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका अनुसार यस अवधिमा कुल १ हजार ८ सय २९ वटा नयाँ उद्योग दर्ता भएको बताइएको हो। 

मन्त्रालयका सूचना अधिकारी सुनिल बञ्जाराका अनुसार बागमती प्रदेशमा अधिकांश उद्योगहरू काठमाडौँ उपत्यकामा दर्ता भएका छन्। सो बाहेक चितवन, मकवानपुर र काभ्रेमा धेरै उद्योग दर्ता भएको मन्त्रालयको तथ्यांक छ। 

यस अवधिमा काठमाडौँमा मात्रै ६ सय ७२ वटा उद्योग दर्ता भएका छन्। काठमाडौँपछि धेरै उद्योग दर्ता भएको जिल्ला नुवाकोट रहेको छ। नुवाकोटमा २ सय २८ नयाँ उद्योग दर्ता भएका छन्।

मकवानपुरमा १ सय २३ वटा उद्योग दर्ता भएका छन् भने काभ्रेमा २ सय १० वटा उद्योग दर्ता भएको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै ललितपुरमा १ सय ६९ वटा, भक्तपुरमा ९४ वटा,  चितवनमा ८९,  सिन्धुलीमा ५७, रामेछापमा ३२, दोलखामा ३९, सिन्धुपाल्चोकमा २७, रसुवामा १२ र धादिङमा ७६ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी बञ्जाराले बताए। 

मन्त्रालयका अनुसार यस अवधिमा वाणिज्य तर्फ मात्रै कुल ८ सय ३८ वटा उद्योगहरु दर्ता भएका छन् । वाणिज्यतर्फ पनि सबैभन्दा धेरै काठमाडौँमा २ सय ६६ वटा उद्योग दर्ता भएका छन्। वाणिज्य तर्फ सबैभन्दा कम रसुवामा ५ वटा उद्योग दर्ता भएको मन्त्रालयले दिएको तथ्याकंमा उल्लेख छ। 

त्यस्तै, मकवानपुरमा १ सय ९, ललितपुरमा ४०, भक्तपुरमा ६१, चितवनमा १ सय २, काभ्रेमा ९७, सिन्धुलीमा ५२, सिन्धुपाल्चोकमा १६, रामेछापमा १०, धादिङमा २०, नुवाकोट ४६, र दोलखामा ३१ वटा नयाँ उद्योग दर्ता भएका छन्। 

यस अवधिमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधन लगायतबाट कुल ७ करोड २३ लाख ७० हजार २३८ रुपियाँ राजस्व संकलन भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमतीका सूचना अधिकारी रमेश पौडेलले जानकारी दिए। जसमा सबैभन्दा धेरै काठमाडौँका उद्योगहरुबाट २ करोड ५७ लाख ५० हजार १२ रुपैयाँ राजस्व संकलन भएको छ। 

यस्तै मकवानपुरका उद्योगहरुबाट ५८ लाख ५५ हजार १ सय २५ रुपैयाँ, चितवनमा ८४ लाख ३४ हजार ७ सय ७५ रुपैयाँ, ललितपुरमा ७७ लाख २३ हजार ९ सय ६९ रुपैयाँ, काभ्रेमा ६० लाख ५६ हजार ९ सय रुपैयाँ, भक्तपुरमा ३९ लाख ९८ हजार १ सय ५५ रुपैयाँ, नुवाकोटमा ३४ लाख ९६ हजार ४ सय २५ रुपैयाँ, धादिङमा ३० लाख १३ हजार ४१ रुपैयाँ,  सिन्धुलीमा १८ लाख ९० हजार २ सय १० रुपैयाँ राजस्व संकलन भएको हो।

त्यस्तै, सिन्धुपाल्चोकमा १७ लाख ६७ हजार ४ सय २५ रुपैयाँ, दोलखामा १६ लाख ३७ हजार ८ सय २५ रुपैयाँ, रामेछापमा १२ लाख ४६ हजार ६ सय ५० रुपैयाँ, दोलखामा १६ लाख ३७ हजार ८ सय २५ रुपैयाँ र रसुवामा ४ लाख ८४ हजार ३७ रुपैयाँ राजस्व संकलन भएको पौडेलले जानकारी दिए।

यस अवधिमा उद्योग तथा वाणिज्यबाट भएको बजार अनुगमनबाट नियम विपरित सञ्चालन भएका उद्योग तथा फर्मबाट  कुल १२ लाख १३ हजार रुपैयाँ जरिवाना संकलन गरिएको बताइएको छ।

प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा कपडाका सामान, जीवजन्तुको आहार, छालाका जुत्ता, ऊनको तयारी पोसाक, सुतिको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, पेय पदार्थ, बिस्कुट, इँटा, औषधी र सिमेन्ट उद्योगहरू रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad