श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले राक्सिराङ गाउँपालिका–३ लावतीकी निशा माया चेपाङको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। गत चैत ४ गते भएको आगलागीमा परेर पूर्ण रूपमा घर नष्ट भएपछि पार्टीले श्रमदान अभियान सञ्चालन गर्दै एक महिनामै घर निर्माण सम्पन्न गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानसहितको टोलीले नवनिर्मित घर पीडित परिवारलाई हस्तान्तरण गरेको हो। अध्यक्ष सिङ्तानका अनुसार आर्थिक सहयोग संकलन तथा श्रमदानमार्फत घर निर्माण कार्य सम्पन्न गरिएको हो।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा घरको साँचो हस्तान्तरण गरिएको कार्यक्रममा करिब १० धुर ऐलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रफलमा एक तल्ले, दुई कोठे घर निर्माण गरिएको अध्यक्ष सिन्तानले बताए। आगलागीबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।

घर निर्माणका लागि करिब ८ लाख रुपैयाँ लागत अनुमान गरिए पनि श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाको सहयोगबाट २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गरिएको अध्यक्ष सिङ्तानको भनाइ छ। यसअघि पार्टीले पीडित परिवारलाई १२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा कपडा सहयोग समेत उपलब्ध गराएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले श्रम संस्कृति पार्टीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे। उनले घरमा शौचालय अभाव रहेको उल्लेख गर्दै गाउँपालिकाबाट आवश्यक सामग्री उपलब्ध गराई शौचालय निर्माणका लागि पहल गर्ने बताए।
साथै, नागरिकता अभावका कारण चेपाङ समुदाय सेवा सुविधाबाट वञ्चित भइरहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले विपद्मा परेका नागरिकको समस्या समाधानका लागि पार्टी सधैं अग्रसर रहने बताइन्। उनले जनताको आवाज सदनसम्म पुर्याउने र श्रमदानमार्फत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
Shares

प्रतिक्रिया