काठमाडौँस्थित नदी किनारमा रहेका सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई नागार्जुनस्थित भवनमा राखिने भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकलाई सुरुमा होल्डिङ सेन्टरमा लगिने र त्यहाँ वास्तविक पीडित पहिचान गरी नागार्जुनस्थित भवनमा व्यवस्थापन गरिने जानकारी दिएका हुन्।
‘तत्काललाई उहाँहरूलाई होल्डिङ सेन्टरमा राख्छौँ। त्यहाँ उहाँहरूको सेग्रिगेसन (छुट्याउने काम) हुन्छ’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि उहाँहरू (वास्तविक सुकुमवासी) लाई नागार्जुनमा रहेका भवनमा लगिनेछ।’
होल्डिङ सेन्टर कहाँ-कहाँ छन् भन्ने विषयमा चाहिँ अहिले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसँग छलफल भइरहेको उनले बताए।
‘होल्डिङ सेन्टर कन्फर्म गर्न सीडीओसँग छलफल भइरहेको छ’, प्रवक्ता मानन्धरले भने, ‘होल्डिङ सेन्टर कन्फर्म भएपछि उहाँहरूलाई त्यहाँ लानेछौँ।’
त्यहाँ वास्तविक सुकुमवासी/पीडित पहिचानपश्चात् उनीहरूलाई नागार्जुनस्थित भवनमा लगिने उनको भनाइ छ।
काठमाडौँका सुकुमवासीलाई नै राख्न भनेर डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ सालमा सरकारले नागार्जुन नगरपालिका (साविक इचंगुनारायण गाविस) मा १२ करोड रुपैयाँ लगानी गरेर सुविधा सम्पन्न भवन (अपार्टमेन्ट) बनाएको थियो।
नागार्जुन नगरपालिकाका दुई स्थानमा बनाइएका दुई भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन्।
तर स्थानीयको अवरोधका कारण अहिलेसम्म त्यहाँ सुकुमवासीलाई राख्न सकिएको थिएन।
सरकारको निर्देशनपछि काठमाडौँका बागमती, विष्णुमतीलगायत नदी किनारका सुकुमवासी बस्ती शुक्रबार बिहानैदेखि खाली गर्न थालिएको छ।
Shares

प्रतिक्रिया