जन्मिँदै दुवै गोडा थिएनन्। भएका दुई हात पनि लुलो अनि सानो। २०५६ फागुन २० गते यस्तो असामान्य शारीरिक अवस्थामा जेठो छोरो जन्मिँदा मकवानपुरको थाहा नगरपालिका-१ निवासी दिलमाया लामा एकपटक आत्तिइन्, भविष्य सम्झेर भयभीत भइन्।
‘यस्तो शरीर भएको छोराले के गरेर जीवन धान्ला’ भन्ने कुराले उनलाई नराम्रोसँग पिरोल्यो। तर जन्मनेबित्तिकै बोल्लाजस्तो छोराको उज्यालो अनुहारले दिलमायाको मनमा आशा पलायो।
त्यसैले त उनले संघर्ष गरेर हुर्काइन्। बोकेर विद्यालय पुर्याइन्। यसमा पति दिनेश बोम्जनले पनि दिलमायालाई उत्तिकै साथ दिए।

शारीरिक अवस्था त्यस्तो भए पनि अमिर बोम्जन सानैदेखि मानसिक रूपमा भने अरूभन्दा क्षमतावान देखिए।
दिन, महिना, वर्ष गर्दै अमिर ६ वर्षमा लागे। पढ्ने चाहना गरेपछि उनलाई आमा दिलमायाले घरनजिकैको कालिकादेवी प्राथमिक विद्यालयमा भर्ना गरिदिइन्। बोकेर छोरा विद्यालय पुर्याउने अनि छुट्टी भएपछि घर ल्याउने उनको दैनिक काम बन्यो। पढ्न रुचि राख्ने अमिरले उक्त विद्यालयमा कक्षा ५ सम्मको पढाइ पूरा गरे।
कक्षा ६ का लागि झम्केश्वरी माध्यमिक विद्यालयमा भर्ना भए। विद्यालय टाढा भएका कारण घरमै पढेर परीक्षा दिन मात्रै जाने सल्लाहअनुसार भर्ना भएका उनले एक वर्ष जसोतसो पढे। परीक्षाका बेला विद्यालय पुग्न पनि उनलाई निकै कठिन भयो। आफ्ना कारण आमालाई धेरै दु:ख भइरहेको जस्तो लागेपछि अमिरले पढाइ बिचमै रोक्ने निर्णय गरे।
सानैदेखि चित्र कोर्न रुचाउने अमिरले पढ्न छाडे पनि आफ्नो कलामा निखार ल्याउँछु भन्ने अठोट लिए।

अमिर सानो हुँदा गाउँकै दिदी अनिता बलले घरमै अक्षर चिनाएकी थिइन्। उनी हरेक दिन अमिरको घर पुगेर पढाउँथिन्। विद्यालय छाडेपछि पनि अनिताले यो क्रम जारी राखिन्। घरमा साँझ-बिहान मात्र आमाबुवा र भाइबहिनी हुन्थे। अनिता पनि फुर्सदको समय निकालेर मात्रै पुग्थिन्।
प्रायः हरेक दिन दिउँसो एक्लै हुने अमिर त्यस दिन पनि एक्लै थिए। घरको झ्यालबाट बाहिर हेर्दै सोचे- घरमाथि रहेको त्यो सुन्दर गुम्बा घुम्न पाए कस्तो हुन्थ्यो होला! भाइसँगै अँगालो मारेर स्कुल जान पाए कस्तो हुन्थ्यो होला!
त्यस्तो कल्पना उनले सेतो कागजमा सिसाकलमले चित्रमा उतारे। अनि आफूले बनाएको चित्र देखेर आफैँ दंग भए।
साँझ परेपछि अनिता दिदी आइपुगिन्। अमिरलाई उनी कुनबेला आइपुग्लिन् र चित्र देखाऊँजस्तो भइरहेको थियो।
‘अनि दिदी आउनेबित्तिकै मैले कोरेको गुम्बाको चित्र देखाएँ’, ती पल स्मरण गर्दै अमिर भन्छन्, ‘त्यो चित्र देखेर दिदी पनि दंग पर्नुभयो। ल तिमी यस्तो भयौ भनेर पिर गर्नै पर्दैन। यति राम्रो कला छ। बरु अझै धेरै बनाउने गर भन्नुभयो। त्यसपछि हो- मैले हरेस खान छाडेको।’
दिन बित्दै गए। एक्लोपनको साथी नै चित्रकला भयो। मनले देखेका संसारलाई कागजमा उतार्ने बानी पर्यो। घरभित्र बसेर उनले संसारलाई स्केचमा उतार्न थाले। कहिले गौतम बुद्धको स्केच, कहिले हिमाल त कहिले विभिन्न पर्यटकीय स्थलका चित्र बनाइरहे।
करुणा संस्थाले फेरिदियो जीवन
अपांगता भएकाहरूको क्षेत्रमा कार्यरत करुणा नेपाल नामको गैरसरकारी संस्थाले अमिरलाई भेट्यो। २०७२ सालको भूकम्पका कारण घर भत्किएर त्रिपालमा बसिरहेका उनलाई उक्त संस्थाले उद्धार गर्यो। सांगीतिक क्षेत्रमा समेत रुचि राख्ने उनलाई संस्थाले परिवारको सल्लाहमा काठमाडौँ लिएर गयो।
काठमाडौँ बस्ने क्रममा अमिरको जीवन फेरियो। कागजमा स्केच बनाउने कला अझ निखार्न तालिम लिए। सोही अवधिमा उनले आधा दर्जनभन्दा बढी आधुनिक गीत रेकर्ड पनि गराए। उनले बनाएका स्केच करुणा नेपालले प्रदर्शनीमा समेत राखिदियो। उनको कला खरिद गर्नेहरूको संख्या बढ्न थाल्यो। विभिन्न डिजाइनका स्केच बनाउन अर्डर आउन थाले।
दाँतले ब्रस च्यापेर सुन्दर स्केच बनाउन जान्ने भएपछि अमिरको दिनचर्या बदलियो। ६/७ महिना काठमाडौँ बसेर उनी गाउँ फर्किए। करुणा नेपालले उनीहरूका लागि बसोबासको व्यवस्था पनि गरिदियो।
स्केच बेचेरै तिरियो ऋण
बिरामी आमाबुवा अनि साना भाइबहिनीको जिम्मेवारीसमेत अमिरकै काँधमा थियो। यसको अगाडि आफ्नो शरीरको भार उनलाई केही जस्तो लाग्दैनथ्यो।
ऋण तिर्न नसक्दा साहुले तामाका गाग्री, रहरले जोडेको टीभी र चरेसका थाल उठाएर लगेको दृश्य अमिरले टुलुटुलु हेरेका थिए। त्यसबेला उनले मनमनमै अठोट गरेका थिए- ती साहुको ऋण अवश्य तिर्नेछु र लगेका सबै सामान फिर्ता ल्याउनेछु।
नभन्दै उनको त्यो सपना केही वर्षपछि वास्तविकतामा परिणत भयो। घर चलाउन बुवाआमाले साहुसँग लिएको ऋण स्केच बेचेरै तिर्न सफल भए उनी।
‘भगवान्’ बनेर आइन् पुष्पा
जसको कोही हुँदैन, उसको दैव हुन्छ भन्ने उखान नेपाली समाजमा प्रचलित छ। अमिरको जीवनमा यो लागु भएको छ।
करुणा संस्थाको साथले आत्मनिर्भर बनेपछि उनको जीवनमा प्रवेश भइन्- रोल्पाकी पुष्पा घर्तीमगर।

सामाजिक सञ्जालमार्फत जोडिएका उनीहरूबिच माया बस्यो। शारीरिक अवस्था थाहा हुँदाहुँदै पनि पुष्पाले अमिरलाई अँगालिन्। ५ वर्षअघि उनीहरूले विवाह गरे।
अहिले उनीहरूसँग ४ वर्षकी छोरीसमेत भइसकेकी छन्।

‘उमेरसँगै मानसिक रूपमा पनि परिपक्व भइने रहेछ, आमाबुवाले शौच गराउँदा लाज लाग्ने, अड फिल हुने भइरहेको थियो’, अमिर भन्छन्, ‘यस्तो अवस्थामा साथ दिने उनी श्रीमती मात्रै होइन, भगवान् नै हुन्। अहिले त एकदमै सजिलो भएको छ। सुखदु:ख बाँड्न पाइएको छ। आमा र बुवा दुवैजना मानसिक रोगी पनि हुनुहुन्छ। उनी आएपछि अब धेरै वर्ष बाँच्छुजस्तो लागेको छ।’
कक्षा १२ सम्म पढेकी पुष्पा अहिले अमिरको हेरचाहमा व्यस्त छिन्। मायामा रूप हेर्न नहुने भन्दै प्रेमविवाह गरेकी उनले मानसिक यातना भने निकै खेप्नपर्यो।
‘श्रीमान्लाई नै बोकेर डुलाउनपर्ने भएपछि किन विवाह गरेको? के देखेर विवाह गरेको? कस्तो न सँग लभ परेछ भनेको त हातगोडा नै नभएकासँग पो गएको!..’
यस्ता कटाक्षयुक्त प्रश्नले पुष्पालाई घरीघरी मानसिक यातना दिन्छन्।
अमिरको अनुहारमा हेरेर मुसुक्क हाँस्दै उनी भन्छिन्, ‘होस्, भन्नेको मुख थुन्न सकिँदैन। टाढाको मान्छेहरूले सपोर्ट गरिरहनुभएको छ। आफन्तहरूले नै भन्ने हुन्। सामाजिक सञ्जालमा पनि नाम फेरेर आईडी बनाएर कमेन्ट गर्न आउँछन्। तर मलाई केही लाग्दैन। साँचो माया गरेको छु। हामी खुसी छौँ, अरूको कुराको वास्ता गर्दिनँ।’

अमिर दिनभरि बसेर क्यानभासमा स्केच कोर्छन्। रङलगायत आवश्यक सामान पुष्पाले जोहो गरिदिन्छिन्।
उनीहरूले बनाइएका स्केचका तस्बिर/भिडिओ सामाजिक सञ्जालमा राख्ने गरेका छन्। अचेल सामाजिक सञ्जालबाटै आएका अर्डर धान्न मुस्किल भइरहेको अमिर बताउँछन्।
‘धरैले स्केच राम्रो लागेर नै किन्नुहुन्छ। कोहीले चाहिँ मेरो अवस्था देखेर माया लागेर पनि किन्ने गर्नुभएको छ’, अमिरले सुनाए, ‘जे होस्, हातगोडा नै नभए पनि मुखको भरमै आफ्नो कला बेचेर खान पाएको छु। यो नै खुसीको कुरा हो।’
फरक क्षमताकै कारण पुस्कार
कुनै बेला आफ्नो क्षमता समाजलाई देखाउन सक्दिनँ की भन्ने पिर पालेर बसेका अमिरले पछिल्लो समय फरक क्षमता भएकै कारण विभिन्न पुस्कार र सम्मानसमेत पाइरहेका छन्।
उनको फरक क्षमतालाई सम्मान गर्दै भीम विराग संगीत कला प्रतिष्ठान, मकवानपुले यस वर्षको अजितसेन गुप्ता भिन्न क्षमता पुरस्कार अमिरलाई प्रदान गर्ने निर्णय गरेको छ। यो सुनेर आफूलाई खुसी लागेको उनी बताउँछन्।
Shares

प्रतिक्रिया