सिमित मुलुकले मात्रै कोरोना भाइरसको महामारीलाई यतिञ्जेल प्रभावकारी रुपमा रोक्न सकेका छन्। त्यसमध्ये एक हो दक्षिण कोरिया। लकडाउन घोषणा नगरी परीक्षण, अनुसन्धान र उपचार (टेस्टिङ, ट्रेसिङ र ट्रिटिङ) को माध्यमबाट दक्षिण कोरियाले महामारी रोक्न सफल भएको छ। उसको यो सफलताको विश्वभर प्रशंसा पनि भएको छ।
कसैले यसको जस दक्षिण कोरियाको यसअघिका महामारीको अनुभव (सार्स, मर्स) लाई दिएका छन्। अमेरिकी विश्लेषकहरुले डोनाल्ड ट्रम्पसँग दाँज्दै दक्षिण कोरियाको प्रभावकारी नेतृत्वका कारण भाइरस रोकथाम सफल भएको तर्क गरेका छन्। कतिपयले सार्वजनिक भलाइका लागि व्यक्तिगत गोपनीयतालाई त्याग्नेजस्ता सांस्कृतिक पक्षलाई औँल्याएका छन्।
तर, कोभिड–१९ विरुद्ध दक्षिण कोरियाले हात पारेको सफलताको कारक यहाँको प्रभावकारी सार्वजनिक सेवा प्रणाली हुन्। यसलाई भने प्रायले नजरअन्दाज गरेका छन्। सार्वजनिक सेवाका आधारभूत पूर्वाधारबिना परीक्षण, अनुसन्धान र उपचारको नीति सफल हुने थिएन। सार्वजनिक सेवा प्रणाली चुस्त नभए प्रभावशाली नेतृत्वले पनि ठूलो उपलब्धि हासिल गर्न सक्दैन।
दक्षिण कोरियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल इन्चनको कुरा गरौँ। सार्वजनिक रुपमा सञ्चालन गरिएको यो विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थलको सूचीमा निरन्तर पर्दै आएको छ। त्यसैगरी राजधानी सोलको मेट्रो सेवा सस्तो र सुविधायुक्त भनेर विश्व प्रसिद्ध छ। यो विश्वकै उत्कृष्ट पाँच भूमिगत रेलमार्गमध्ये एक हो।
यी सबैभन्दा महत्वपूर्ण पक्ष भनेको दक्षिण कोरियाको स्वास्थ्य प्रणाली हो। जसलाई सन् २०१५ मा ओईसीडी मुलुकमै उत्कृष्ट ठहर्याइएको हो। दक्षिण कोरियामा प्रायः अस्पताल निजी क्षेत्रले सञ्चालन गरेका छन्। तर, ९७ प्रतिशत जनसंख्या भने अनिवार्य राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमभित्र अटाएका छन्। निजी अस्पताल र सार्वजनिक बिमा प्रणालीबीचको यो सन्तुलनले स्वास्थ्य सेवा र महत्वपूर्ण स्रोतमा सबैको पहुँच सम्भव भएको छ। जसको प्रभावकारिता कोरोना भाइरस महामारीको बेला प्रमाणित भएको छ।
दक्षिण कोरियाले यस्तो प्रणाली कसरी विकास गर्यो त? पश्चिम युरोपमा जस्तो कल्याणकारी राज्य स्थापना गर्नु दोस्रो विश्वयुद्धपछि दक्षिण कोरियामा शासन गरेका तानाशाहहरुको प्राथमिकतामा थिएन। बरु, एसियाका अन्य विकासशील मुलुकमा झैँ मुख्य जोड औद्योगिकीकरण र आर्थिक वृद्धिमा थियो। तथापि, कोरियामा उद्योग विस्तार भएसँगै तानाशाहहरुले अनिवार्य रुपमा सार्वजनिक सेवाका पूर्वाधारमा लगानी गर्दै गए। सन् १९७७ मै मुलुकमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सुरु गरियो।
सन् १९८७ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि पनि यो राज्यको नेतृत्वमा सञ्चालित आर्थिक प्रणाली र पूर्वाधार व्यवस्थापनमा परिवर्तन आएन। मात्र मानिसहरुको धारणामा परिवर्तन आयो।
लगातारको राष्ट्रव्यापी प्रदर्शनको नतिजास्वरुप १९८७ मा सैन्य तानाशाहीको पतन भएको थियो। सन् १९९० र २००० को दशकमा दक्षिण कोरियामा अनेकौँ विषयमा आम जनप्रदर्शन भए। अमेरिकीबाट गाईको मासु आयात गर्नेदेखि सन् २०१४ मा भएको डुंगा दुर्घटनासम्मका विषयमा सरकारको विरोधमा ठुल्ठूला प्रदर्शन भए।
यसको सबैभन्दा उच्च रुप यसअघिकी राष्ट्रपति पार्क गुन हेविरुद्ध भएको जनपरिचालन र प्रदर्शन थियो। अक्टोबर २०१६ देखि मार्च २०१७ सम्म निरन्तर प्रदर्शन भएको थियो। ३ डिसेम्बर २०१६ मा २३ लाख मानिस सडकमा उत्रेका थिए, जुन जनसंख्याकै ४ प्रतिशत थियो। जसका कारण अन्ततः पार्कमाथि महाअभियोग लाग्यो र उनी जेल पुगिन्।
तसर्थ सन् १९९० देखि नै कोरियाली राजनीतिमा आधारभूत परिवर्तन आएको देख्न सकिन्छ। त्यसयता राज्य र नागरिकबीचको सम्बन्धमा नागरिक जहिले पनि शक्तिशाली हुँदै गएका छन्। उनीहरुले नागरिकको कल्याणका विषयमा राज्यलाई गम्भीर हुन बाध्य बनाउँदै आएका छन्। खासगरी सार्वजनिक यातायात, उर्जा र स्वास्थ्य सेवाका विषयमा यो कुरा स्पष्ट देखिन्छ।
औसत मानिसका लागि यी दैनिक उपभोगका सेवा हुन्। यसमा सबै नागरिकको अधिकार छ किनभने यी करदाताको पैसाबाट सञ्चालित छन्। उपयोगितावादी शब्दमा भन्नुपर्दा यी सेवा नागरिकप्रति सरकारको वचनबद्धता मापन गर्ने औजार हुन्। यस्ता सेवाको गुणस्तर खस्किनेबित्तिकै सत्ताधारी पार्टीले आगामी चुनावमा मत गुमाउँछ।
सार्वजनिक सेवाप्रतिको नागरिकको यो संवेदनशीलता र सरकारलाई त्यसका लागि जिम्मेवार ठहर्याउने प्रयासका कारण दक्षिण कोरियाको सार्वजनिक सेवा २० वर्षयता सुधार भइरहेको छ। यसले निजीकरणलाई स्वीकार गर्न पनि कठिन बनाएको छ। निजीकरण सार्वजनिक स्वामित्व भावनाविरुद्ध छ छ नै, सरकारी स्वामित्वमा हुँदा निरन्तर सुधार भइरहेकाले निजी कम्पनीलाई बेच्ने कुरा आउँदा मात्रै पनि धेरै प्रश्न उठ्न पुग्छ।
थुप्रै वर्षदेखि कोरियालीहरुलाई के विश्वास गर्दै आएका थिए भने विश्वस्तरीय सार्वजनिक सेवा हुनु भनेको अझ बढी लोकतान्त्रिक हुनु हो। तसर्थ अझ बढी पश्चिमनिकट हुनु हो। तर, पश्चिममा जताततै सार्वजनिक सेवाको निजीकरण र आउटसोर्सिङ भइरहेको छ भन्ने उनीहरुले ख्यालै गरेका थिएनन्।
कोरोना भाइरसको संकटले युरोपलाई भुमरीभित्र खसाइदिएपछि पश्चिमको यो आदर्श छवि ध्वस्त भएको छ। कोरियामा जे छ, त्यो ‘कोरियन मोडल’ को प्रमाण पनि हो, जसका लागि कोरियालीहरुले वर्षौँदेखि लड्दै आएका छन्। यो मोडल तत्कालै समाप्त हुनेवाला छैन।
(द गार्जियनबाट। ते हुन किम स्वीडेनमा बस्ने दक्षिण कोरियाली भूराजनीतिक तथा आर्थिक विश्लेषक हुन्)

प्रतिक्रिया