गैरआवासीय नेपलाी संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्मा पछिल्लो समय कोरोना भाइरस (कोभिड—१९) ले नेपाल बाहिर रहेका नेपालीलाई पारेको असरबारे नजिकबाट अध्ययन गरिरहेछन्। वेलायतस्थित लिभरपुल विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनीसँग प्रवासी नेपालीको अवस्था केन्द्रित रहेर नेपालखबरले गरेको कुराकानीः
कोरोनाको महामारीको यो समयमा गैरआवासी नेपाली संघले के गर्दैछ?
यो महामारीलाई ध्यानमा राखेर अध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय समिति बनाई रणनीतिक योजना बनाएर हामी काम गरिरहेका छौं। समितिमा विश्वभरि छरिएर रहेका मेडिकल डाक्टर, पब्लिक हेल्थ विज्ञहरु संलग्न हुनुहुन्छ। पूर्व स्वास्थमन्त्री गगन थापा, पूर्व शिक्षामन्त्री तथा विपत विशेषज्ञ डा.गंगाधर तुलाधर सल्लाहकार रहेको समितिले तीन चरणका कार्यक्रम बनाएर काम गरिरहेको छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन। हामी त्यहीअनुसार काम अघि बढाइरहेका छौं।
यी योजना, नीतिका कुरा भए मान्छेलाई प्रत्यक्ष लाभान्वित हुनेगरी के काम गरिरहनु भएको छ?
तत्कालका लागि स्वास्थ्य सामाग्री नेपाल पठाउने काम भइरहेको छ। कोरियाबाट पठाएको करिब १ करोडको सामाग्री गत शुक्रबार पुग्यो, दोस्रो खेप चीनबाट करोड रूपैयाँभन्दा बढीको सामान छिटै पुग्दैछ। पहिलो चरणमा संघको स्वास्थ्य समिति सक्रिय भएको छ। यसले कोरोना संक्रमणबाट जोगिन जनचेनता र सूचनामुलक पोष्टर, भिडियो आदि निर्माण तथा वितरण गरेको छ। विदेशमा रहेका कतिपय नेपालीले स्थानीय भाषा नबुझ्ने हुँदा उनीहरुलाई केन्द्रित गरेर यी सामग्री निर्माण गरिएको हो। विश्वभरका डाक्टरहरुको सञ्जाल निर्माण गरेका छौं। उनीहरुसँग नेपाली भाषामा सातै दिन २४ घण्टै विश्वको जुनसुकै कुनाबाट पनि नेपाली भाषामा स्वास्थ्यसम्बन्धी परामर्श लिन सक्छन्। स्वास्थ्य समितिले नेपालको दुरदराजमा रहेका महिला स्वास्थ्यकर्मीलाई कोरिना संक्रमणबाट बच्ने उपायसम्बन्धी तालिम सुरु गरेको छ।
एनआरएनएले नेपाल सरकरालाई यो पटक पैसा नदिएर स्वास्थ्य सामग्री नै सहयोग गर्यो नि खासमा किन हो?
यसका तीन मुख्य पक्ष छन्ः पहिलो अहिले पैसाभन्दा स्वास्थ्य परीक्षण र चिकित्सकका लागि सुरक्षा सामाग्रीको आवश्यकता महत्वपूर्ण भएको अवस्था छ। दोस्रो, नेपालमा टेस्ट किट अभाव रहेको भनेकाले हाम्रो पहलमा सामाग्री छिटो पुगोस् भनेर यो निर्णय गरिएको हो। तेस्रो, सरकारका तर्फबाट पनि यस्तै आग्रह भएर हो।
संघको सञ्जाल ८१ वटा देशमा छ। ती देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसीसी) ले के काम गरिरहेका छन्?
सबै एनसीसी परिचानलन गरी कोरोना महामारीमा पारेकाहरुका समस्याबारे अध्ययन गरिरहेका छौं। एनसीसीहरुले तत्काल राहतको काम पनि गरिरहेका छन्। यो महामारीले स्वास्थ्यमा मात्र नभई गैरआवासीय नेपालीमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर गरेको छ। यसले लामो समय असर गर्नसक्छ। त्यसैले हामीले यस विषयमा पनि गैरआवासीय नेपालीहरुलाई परामर्श दिँदै आएका छौं। केन्द्र र प्रायजसो एनसीसीहरुमा हेल्पलाइनको व्यवस्था गरिएको छ। अमेरिका, अष्ट्रेलिया, युके र मध्यपूर्वमा ठूलो संख्यामा नेपाली रहेका एनसीसीले राहत त्यतै केन्द्रित गरेका छन्। कोरिया, चीन, मकाउ, हड्कङमा गैरआवासीय नेपालीहरुले स्थानीय नेपालीलाई सहयोग गर्नुका साथै नेपाल समेत स्वास्थ्य सामग्री पठाइरहेका छन्।
तपाइँहरुको अध्ययनले कोरोना महामहारीपछि नेपाल बाहिरका नेपालीको अवस्था कस्तो पाएको छ?
कोरोनाका कारण प्रायः सबै देशका नेपाली प्रभावित छन्। लकडाउनको कारणले आर्थिक रुपमा सबै नेपालीहरुलाई प्रभाव परेको छ। विदेशमा स्थायी रुपमा बसोबास गर्दै आएका नेपालीहरुलाई स्थानीय सरकारले राहत प्याकेज ल्याए पनि अल्पकालीन भिसामा आएका कामदार, श्रमिक र विद्यार्थीहरुलाई तत्कालै सहयोगको खाँचो छ। पहिलेदेखि नै गैरकानूनी रुपमा बसिरहेकाहरु झन समस्यामा छन्। भिजिट भिसामा आउने नेपालीहरुको पनि लकडाउनका कारणले यतै अड्किएको अवस्था छ। हामीले यी सबै नेपालीहरुको तथ्याङ्क तयार गर्दैछौँ।
कति नेपाली विदेशमा कोरोनाबाट संक्रमित भएको तथ्यांक पाउनु भएको छ?
कोरोना संक्रमित नेपालीको तथ्यांक एनआरएनएले संकलन गरिरहेको छ। संक्रमित र असर परेकाहरूको तथ्यांक लिन व्यवहारिक रुपमा निकै अप्ठ्यारो पनि परेको छ। संक्रमणबारे भन्न नचाहने नेपालीहरु पनि छन्। मान्छे मृत्यु भएको मेडिकल सार्टि्फिकेट अस्पतालले दिए पनि परिवार, नातेदारले त्यसलाई खुलाउन चाहँदैन। विदेशी नागरिकता लिएका नेपालीहरु त्यहीँको नागरिकको रुपमा गणना हुन्छन्। यी अप्ठ्याराबीच हामीले नेपाली दूतावास, एनआरएनए शाखा, तथा स्थानीय संघसंस्थाले प्रदान गर्ने सूचनाका माध्यमबाट तथ्यांक संकलन गरेका छौं। विश्वभर ६६५ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन्। १४ जनाको मृत्यु भएको छ।
अमेरिकामा रहेका नेपालीबारे थरिथरिका अपुष्ट खबर र हल्ला आइरहन्छन् खासमा त्यहाँका नेपालीको अवस्था कस्तो हो? संक्रमित नेपाली कति पुगेका हुन्?
कोरोनाका कारण अमेरिकाका नेपालीलाई पनि ठूलो असर परेको छ। धेरै कारणले अमेरिकामा संक्रमित, मृत्यु र असर परेका नेपालीहरूको तथ्यांक लिन सहज छैन। हाम्रो स्वास्थ्य समितिको अध्ययनअनुसार न्युयोर्कमा पनि कोरोना संक्रमणका कारण नेपालीले जनाले ज्यान गुमाएका छन्। विदेशमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अमेरिकामा नै संक्रमित देखिएका छन्। स्वास्थ्य समितिको अध्ययनअनुसार अमेरिकामा करिब ५ सय जना नेपाली संक्रमणमा छन्। अमेरिकामा आम जनसम्पर्कमा रहेर काम गर्ने नेपालीहरु कोरोनाबाट बढी असुरक्षित रहेको देखाएको छ।
बेलायतसहित युरोपका देशहरु इटाली, स्पेन, पोर्चुगल, जर्मनी सबैतिर नेपाली छन्। त्यहाँ कति नेपाली संक्रमणमा परेका छन्? उनीहरुको अवस्था कस्तो छ ?
वेलायतमा कोरोनाका कारण सबैभन्दा बढी ८ नेपालीको मृत्यु भएको छ। बेलायतमा पाको उमेरका नेपालीहरु बस्ने भएकोले उनीहरु जोखिममा छन्, खासगरी पूर्व गोर्खाहरुको समूह। अन्य युरोपेली देशहरुमा कोरोनाबाट नेपाली मृत्यु भएको जानकारी छैन। संक्रमणका घटना भने देखिएका छन्। पोर्चुगलमा ८, जर्मनीमा ४ जना नेपाली संक्रमित भएको जानकारी छ। स्पेनको हकमा संक्रमित नेपालीको तथ्यांक यति नै हो भन्न अहिलै सहज छैन। तर युरोपको हकमा नेपालीबारे साझा असर के हो भने यहाँका धेरै नेपालीले काम गुमाएका छन्। पर्यटन क्षेत्रमा रोजगारीमा भएका पोर्चुगल, माल्टाजस्ता देशका नेपालीहरु प्रत्यक्ष मारमा परेका छन्। एनआरएनएले सरकारले घोषणा गरेका सहयोग कसरी लिनेदेखि दैनिक खाद्यान्न वितरण गर्नेसम्मको काम थालेको छ। अहिले समस्याको शुरुवात मात्र भएको छ, हामीले अझै अप्ठ्यारो स्थितिको लागि तयार हुनु जरुरी छ।
कोरोनाबाट खाडीका देशहरु जुन नेपालीहरुका रोजगार गन्तव्य देशहरु पनि हुन्। बहराइन र युएईमा धेरै संक्रमित रहेको भनेर कुराहरु आइरहेका छन्। कस्तो छ त्यहाँ नेपालीको अवस्था?
मध्यपूर्वमा संक्रमित भएका भनेर सार्वजनिक नेपालीको संख्या अमेरिका यूरोपभन्दा कम छ। त्यो क्षेत्रका साथीहरूले वास्तविक संख्या त्यो भन्दा बढी भएको आशंका गरिरहनु भएको छ। त्यहाँ फ्रन्टलाईनमा काम गर्ने नेपाली धेरै छन्। स्थानीय सरकारले पनि कुन देशका कति संक्रमित भए भनेर तथ्याङ्क दिने गरेको छैन। पछिल्लो तथ्यांकअनुसार बहराइनमा २२ नेपाली संक्रमित भएका छन्। युएईमा १२ जना छन्। साउदी अरब ४, कुवेतमा ५ जना संक्रमित छन्। हामीलाई प्राप्त सूचनाअनुसार संक्रमित नेपालीहरुको उपचार भइरहेको छ। केही निको पनि हुनु भएको छ। कतारमा समेत प्रत्यक्ष परोक्ष रुपमा नेपालीहरु कोरोनाबाट प्रभावित भएका छन्। कतारमा एनआरएनएले त्यहाँको रेडक्रससँग मिलेर नै नेपालीहरुलाई राहत वितरण गरेको थियो।
खाडीमा रहेका नेपालीको भिसा एवं कागजपत्रबिहीन भएर गैरकानुनी हुन लागेका भन्ने कुरा सुनिएको छ। यो विषयमा केही पहल भएको छ?
खाडीमा रहेका कतिपय नेपालीहरुको भिषा, कागजातको समय सकिएर बसाइ गैरकानुनी भएको भन्ने सूचना हामीले पनि पाएका हौं। ती देशहरुमा समेत लकडाउन छ। त्यसैले उनीहरुलाई समस्या परिरहेको यो विषय हामीले नेपाल सरकारमार्फत् समाधान गर्न काम अघि बढाएका छौं। नेपाल सरकारले यो विषय समाधानका लागि छिटै प्रक्रिया अघि बढाउने अपेक्षामा छौं।
अध्ययन र कामको लागि धेरै नेपाली विदेशमा छन्। नेपाली बसोबास गरिरहेका देशहरुले उनीहरुलाई आफ्नै देश जाउ भन्ने अवस्था आएमा के हुन्छ? यो विषयमा एनआरएनएले केही तयारी गरेको छ?
यो स्वभाविक हो कि अप्ठ्यारोमा परेका नेपाली छिटै नेपाल फर्किन चाहन्छन्। हाल नेपाल सरकारले गरेको लकडाउनका कारण फर्किन नपाएकाहरुलाई दूतावास, नेपाली संघसंस्था, गैरआवासीय नेपाली संघले सहयोग गर्दै आएका छन्। तर यसरी धेरै समय थेग्न सकिँदैन। ढिलो चाँडो उनीहरुलाई नेपाल फर्किन पाउने वतावरण बनाउनु पर्छ। महामारी बढ्दै गएर आर्थिक मन्दी भए ठूलो संख्यामा नेपालीहरु फर्किनु पर्ने अवस्था हुनेछ। कतिपय विज्ञहरु औषधि पत्ता नलागेसम्म फेरि पनि कोरोना भाइरस फर्किन सक्छ भनिरहेछन्। त्यसैले नेपाल सबै खालको परिस्थितिको लागि तयार भएर बस्नुपर्छ। धेरै नेपालीहरु फर्किने स्थिति आयो भने नेपालले यसलाई अवसरमा परिणत गर्न सक्नुपर्छ। उनीहरुले बाहिर सिकेको सीपलाई देश विकासमा सदुपयोग गर्न सकिन्छ।
अन्त्यमा फेरि एउटा अलि पहिलाको प्रसंग जोडौं। कोरोना महामारीको असर स्वास्थ्य मात्र नभई अरु किसिमको पनि हुने बताउनुभयो नि। यसबाट तपाइँले कस्तो अवस्था संकेत गर्न खोज्नुभएको हो?
अहिले संसारभरिका नेपालीहरु पीडामा छन्। लकडाउनको कारणले व्यवसाय गर्नेदेखि काम गर्ने सबै खालका नेपालीहरु आर्थिक रुपमा कमजोर भएका छन्। सन् २०१५ को भुकम्पको बेलामा विदेशमा सडक-सडकमा गएर विदेशीहरुबाट हामीले सहयोगको आह्वान गरेका थियौं। अहिले बाहिर निस्किने स्थिति छैन, विदेशीहरु नै पीडामा छन्। त्यसैले महामरी लम्बिए भूकम्पभन्दा सयौं गुणामा ठूलो असर नेपाललाई पर्नेछ। अहिले लाखौ नेपाली बाहिर छन्। प्रत्येक ३—४ जनाको परिवार गैरआवासीय नेपालीबाट आश्रित छ। उनीहरुलाई पनि प्रत्यक्ष असर पर्नेछ। रेमिटेन्स र पर्यटनमा धानिएको हाम्रो अर्थतन्त्रलाई असर पर्नेछ। यस्तो विषम परिस्थितिमा एनआरएनले एक्लैको पहल नगन्य हुन जान्छ। नेपाल सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृसंस्थाहरु सबैको संयुक्त पहल जरुरी छ।
Shares

प्रतिक्रिया