भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा एक जना जापानी नागरिक पक्राउ परेका छन्।
नेपाली महिलासँग विवाह गरेर काठमाडौँमा बस्दै आएका जापानी नागरिकले भिसाको उद्देश्य विपरीत काम गरेको देखिएकाले नियन्त्रणमा लिइएको अध्यागमन विभागले जनाएको छ। उनको नाम भने खुलाएको छैन।
उनी सन् २०१२ मा पर्यटक भिसामा नेपाल आएका थिए। त्यसयता ६ वर्ष विभिन्न व्यवसायमा संलग्न रहेको पाइएको विभागको भनाइ छ।
विभागका अनुसार, उनले पोखराको पुम्दीमा पिस अफ माइन्ड रेस्टुरेन्ट क्याफे सञ्चालन गरेको थिए। त्यसपछि चार वर्षदेखि झम्सीखेलमा कफी सप सञ्चालन गरेको पाइएको विभागले जनाएको छ।
व्यवसाय सञ्चालन गरे पनि कतै दर्ता नगरेको र राज्यलाई कर नतिरेको देखिएको विभागको भनाइ छ। भिसाको उद्देश्य विपरित क्रियाकलापमा संलग्न बसेका विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ।
Shares

प्रतिक्रिया