बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या आरोप लागेका चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चारजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलासले नारायणसिंह ऐरी, अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र गजेन्द्रसिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो।
गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिकाका निवर्तमान वडाध्यक्ष हुन्। उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए।
१३ फागुनमा इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए।
राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकका रुपमा बझाङमा कार्यरत बुडाल बिदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए।
उनी चौलानी नदीमा रहस्यमयी ढंगले मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
जिल्ला अदालतले हत्या आरोपित १२ जनामध्ये तीनजनालाई भने साधारण तारिखमा छाड्ने आदेश दिएको तहसिलदार तीर्थराज आचार्यले जानकारी दिए।
उनका अनुसार मोहनसिंह ठगुन्ना, केशवसिंह रावल र भुवनराम लुहार तारिखमा रिहा भएका हुन्।
यस्तै पाँचजना आरोपित धरौटीमा रिहा भएका छन्। दीपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार धरौटीमा रिहा भएका हुन्।
यस्तै, नवीनसिंह ठगुन्ना र श्यामसिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन्।
Shares
प्रतिक्रिया