प्रवास


विश्व एकताको सन्देश दिँदै ४५औँ ‘लन्डन म्याराथन’ सम्पन्न, नेपालका दुई धावकले रचे कीर्तिमान (तस्बिरहरू)

विश्व एकताको सन्देश दिँदै ४५औँ ‘लन्डन म्याराथन’ सम्पन्न, नेपालका दुई धावकले रचे कीर्तिमान (तस्बिरहरू)

मगेन्द्र राई
बैशाख १६, २०८२ मंगलबार ११:४६, लन्डन

विश्वकै चर्चित म्याराथनमध्येको एक ‘लन्डन म्याराथन’को ४५औँ संस्करण बेलायतको राजधानी लन्डनमा आइतबार सम्पन्न भएको छ।

करिब ९ लाख आवेदकमध्ये ५६ हजार ६४० प्रतियोगीले सहभागी हुने मौका पाएका थिए।

उक्त प्रतियोगिताको एलिटतर्फ केन्याका सेबास्टन सावे ले २ घण्टा २ मिनेट २७ सेकेन्डमा निर्धारित ४२ किमि पार गरी प्रथम भए भने महिलातर्फ इथोयोपियाकी टिग्स्ट आसेफाले २ घण्टा १५ मिनेट ३० सेकेन्डमा पार गरी प्रथम भइन्।

प्रतियोगितामा बेलायतवासी झन्डै १०० नेपालीको सहभागिता रहेको थियो। जहाँ नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरे।

उनले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए। त्यसैगरी नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान भङ्ग गरेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

यसअघि २०२४ मा सन्तोषीले बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्।

वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिसम्मको सहभागिता रहेको प्रतियोगिता संघर्ष, एकता र मानवताको सन्देश दिँदै समापन भएको थियो।

मानव कल्याणको निम्ति सन् १९८१ बाट सुरु भएको उक्त म्याराथनले गत वर्ष ७३.५ मिलियन पाउन्ड संकलन गरेको थियो भने यो वर्ष अझ बढी संकलन हुने आकलन गरिएको छ। एक दिनको इभेन्टमा यो रकम गिनिज वर्ल्ड रेकर्ड हो।

गिनिज वर्ल्ड रेकर्डले ७०औँ वार्षिकोत्सव मनाइरहँदा लन्डन म्याराथनमा धेरै रेकर्ड कायम भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad