एउटा नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’।
विगत केही समयदेखि युरोपेली मुलुक पोल्यान्डको एनआरएनएमा पनि यस्तै जात्रा भइरहेको छ। काठमाडौँको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म जात्रा मनाइन्छ। तर, एनआरएनए पोल्यान्डमा भने तीन दिन मात्र होइन, लगातार जात्रासरह भएको छ।
२६ जुलाईमा भएको आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित रीता न्यौपानेको कार्यसमितिले जुलाई २९ मा सपथ ग्रहण गर्यो। तर, सपथ ग्रहण गरेको ३ दिन अर्थात् ३१ जुलाईमा अध्यक्षका उपविजेता भविन्द्र गाहा मगर (भविन)ले अध्यक्षलाई मार्ग प्रशस्त गर्न भनेका छन्।
मगरले सामाजिक सञ्जालमा एक विज्ञप्ति राख्दै सपथ खाएको २४ घण्टा पनि नबित्दै यो तहको संस्थामा बदमासी होला भन्ने आफूले कल्पना नगरेको लेखेका छन्।
संस्थाको लेटरहेड, लोगो, छाप प्रयोग गरेर संस्थाको बदनाम गर्ने गिरोह त एनआरएनए पोल्याण्डको नेतृत्व तहमा पुगेको छैन? भन्दै उनले अध्यक्षलाई प्रश्नसमेत गरेका छन्।
यो नैतिक विषय त हो नै, साथमा गम्भीर कानुन उल्लङ्घन पनि भएकोले अध्यक्षले नैतिक जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न वा यस्तो निन्दनीय कार्यमा संलग्नलाई सार्वजनिक गर्दै पदबाट तुरुन्त हटाउन भनेका छन्।
भएको के हो?
सुनीता लावतीको मात्र महिला उम्मेदवारी रहेकोमा केही प्राविधिक कमजोरीले गर्दा लावती पनि निर्वाचनमा जानुपरेका कारणले समस्या आएको थियो। यद्यपि, निर्वाचनबाट लावती चुनिएकी थिइन्।
यसै सन्दर्भमा नवनिर्वाचित कमिटीले ‘स्पष्टीकरणसम्बन्धी सूचना’ भन्दै संस्थाको आधिकारिक पेजमार्फत निवर्तमान कार्यसमितिको नामबाट संस्थाको लेटरहेड, लोगो, छापको प्रयोग गरेर एक पत्र सार्वजनिक गरेपछि विवाद भएको हो।
निर्वाचन समिति, निवर्तमान समिति, पञ्जीकृत सदस्यहरूको चर्को विरोध भएपछि सो पत्र सार्वजनिक गरिएको केही समयमा नै गायब पारिएको छ। एनआरएनए पोल्यान्डको आधिकारिक पेजमा भने हालसम्म पनि उक्त सूचना कायम छ।
शपथ ग्रहण गरेपछि सम्पूर्ण जिम्मेवारी नवनिर्वाचित समितिको जिम्मा भएको निवर्तमान अध्यक्ष अनिल थापा बताउँछन्। निवर्तमान समितिको नाममा यसरी नवनिर्वाचित समितिको धारणा आउनु सङ्गठनको मर्यादा विपरीत रहेको उनको भनाइ छ।
यता, नवनिर्वाचित अध्यक्ष न्यौपाने भने भोलि मात्र यस विषयमा धारणा दिन सकिने बताउँछिन्। ‘भोलि (सोमबार) नवनिर्वाचित समितिको पहिलो बैठक बस्दैछ। यस विषयममा बैठकपछि मात्र संस्थागत धारणा दिन सकिन्छ,’ अध्यक्ष न्यौपानेले नेपालखबरसँग भनिन्।
लगभग १४ हजार नेपाली रहेको अनुमान गरिएको पोल्यान्डमा यसपटक एनआरएनए पोल्यान्डको ५५४ जना पञ्जीकृत सदस्य भएका छन्। त्यसमा पनि २७१ (लगभग ४८ प्रतिशत) जनाले मतदानमा भाग लिएका छन्।
अध्यक्षलाई जम्मा सदस्यको लगभग ३२ प्रतिशत (१८१ मत) परेको छ। पछिल्लो समय नेपालीको ठूलो संख्या आकर्षित रहेको पोल्यान्डको साझा संस्थाको यो दयनीय अवस्थाले आफू चिन्तित भएको एनआरएनए पोल्यान्डका एक संस्थापकले बताउँछन्।
Shares

प्रतिक्रिया