बर्लिनस्थित नेपाली दूतावास जर्मनीले पोल्यान्डमा विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गरेको छ।
बर्लिनस्थित नेपाली दूतावासले वारसास्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत राहदानी वितरण गरेको हो।
अवैतनिक वाणिज्यदूतको कार्यालयले जुलाई २० मा २४८ जना, अगस्ट ३ मा १८० जना र आज अगस्ट १७ मा ३३२ जनाको राहदानी वितरण गरेको जनाएको छ।
‘बर्लिनस्थित दूतावासबाट तयार भएर प्राप्त भएका राहदानीहरू सेवाग्राहीलाई वितरण गरिएको हो’, वारसा क्षेत्रका लागि नेपाली वाणिज्यदूत डा बोधराज सुवेदीले नेपालखबरसँग भने, ‘राहदानी लिन बाँकी रहेका सेवाग्राहीले अवैतनिक वाणिज्यदूतको कार्यालयमा प्रि-अपोइन्टमेन्ट लिएर लिन सक्ने छन्।’

अवैतनिक वाणिज्यदूतावासको कार्यालयले सेवाग्राहीलाई वारेसमार्फत पनि राहदानी लिन सक्ने व्यवस्था मिलाएको थियो।
फाराम भर्दा गलत विवरण भएका कारण करिब डेढ दर्जन सेवाग्राहीका राहदानी भने रोकिएका छन्। त्यस्ता सेवाग्राहीको फारम पुन: राहदानी विभाग काठमाडौँमा पेस भइसकेको छ।
अगस्ट महिनाको अन्त्यसम्म रोकिएका राहदानी पनि दूतावासमा प्राप्त हुने र दूतावासले वारसास्थित नेपाली अवैतनिक वाणिज्यदूतावासमा पुर्याउने जर्मनीस्थित नेपाली राजदूतावास बर्लिननका नियोग उपप्रमुख सागरप्रसाद फुयालले बताए।
‘पहिले भएको घुम्ती शिविरमा राहदानी बनाएका मेरा साथीहरुले १ सय ज्लौटीसम्म (आजको विनिमय दरअनुसार ३ हजार ८ सय रूपैयाँ) बुझाएका थिए। तर यसपटक कुनै शुल्क लागेन,’ आज राहदानी लिएका मोरङका मोहन विक्रम थापाले खुसी हुँदै नेपालखबरसँग भने।
राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट अतिरिक्त शुल्क र चर्को हुलाक खर्च लिएको गुनासो थियो। डा शैल रूपाखेती जर्मनीका लागि राजदूत भएर आएपछि यसपटक दूतावास आफैँले राहदानी वितरण गर्ने व्यवस्था मिलाएको हो।
राहदानी विभाग, काठमाडौँको समन्वयमा नेपाली राजदूतावास जर्मनीले पोल्यान्डमा अप्रिल २ देखि ४ सम्म घुम्ती शिविरबाट राहदानी बनाउन ८६३ जनाले राहदानीका लागि आवेदन दिएका थिए।
Shares

प्रतिक्रिया