प्रवास


एनआरएनए पोल्यान्ड : लेखा समिति भन्छ, गल्तीमाथि गल्ती हुँदैछ

एनआरएनए पोल्यान्ड : लेखा समिति भन्छ, गल्तीमाथि गल्ती हुँदैछ

शेरबहादुर परियार
भदौ २३, २०८२ सोमबार १२:५६, वारसा, पोल्यान्ड

एनआरएनए पोल्यान्डले सेप्टेम्बर ५ (शुक्रबार) मा प्रेस विज्ञप्ति निकालेर विपिन पराजुली नामबाट चुनाव लडेर निर्वाचित भएका सूर्यप्रसाद पराजुलीलाई सदर गरेको भन्दै सार्वजनिक विरोध भएको छ।

एनआरएनए पोल्यान्डको लेखा समितिले हिजो (आइतबार) पत्रकार सम्मेलन गर्दै कार्यसमितिले गल्तीमाथि गल्ती गर्दै गएको भनेको छ।

‘निर्वाचनमा मनोनयन दर्ता गरेका विपिनलाई मतदाताले जिताएका हुन्, सूर्यप्रसाद को हो चिन्दैनन्’, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष समेत रहेका लेखा समितिको संयोजक कुलबहादुर श्रेष्ठले भने।

हामीले यसबारे कार्यसमितिलाई पटक-पटक पत्र तथा इमेलमार्फत छलफलका लागि वातावरण बनाइदिन अनुरोध गर्‍यौँ। तर, समितिले नटेरेपछि पञ्जीकृत सदस्यहरूलाई जानकारी गराउन बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको श्रेष्ठले बताए।

आफू पूर्वउपाध्यक्ष पनि भएकोले पञ्जीकृत सदस्यको कागजात भेरिफाईको प्रमाणहरू आफूसँग रहेको उनको भनाइ छ।

‘गलतलाई गलत भनौँ। राम्रो काम गर्न नसके पनि गलत कसैले नगरौँ भनेर लेखा समितिले पहल थालेको हो’, सचिव झकेन्द्र सापकोटाले पत्रकार सम्मेलनमा भने।

एनआरएनए पोल्यान्डको विधानअनुसार लेखा समितिले विशेष साधारण सभाको आह्वान समेत गर्न सक्ने भएकोले त्यस अवस्थासम्म पुग्न नपरोस् भन्ने समितिको भनाइ छ।

‘विपिन पराजुलीको मात्र यस्तो भएको हो वा अरूको पनि यसरी अवैधानिक ढङ्गबाट पञ्जीकृत सदस्य भेरिफाई भएका छन्, त्यसको छानबिन आवश्यक छ’, सदस्य टङ्क कटुवालले बताए।

पत्रकार सम्मेलन गर्नुअघि लेखा समितिले पञ्जीकृत सदस्यहरूसँग अन्तरक्रिया तथा छलफल गरेको थियो।

उक्त छलफलले सर्वपक्षीय छानबिन समिति गठन गर्न सुझाव प्राप्त भएकोले सोहीअनुसार शिरोपर गरिने संयोजक कुलबहादुर श्रेष्ठ र सचिव झकेन्द्र सापकोटाद्वारा हस्ताक्षरित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष रीता न्यौपाने र महासचिव उदयराज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै सदस्यता प्रमाणीकरणको क्रममा पेस गरिएको आधिकारिक कागजात अनुसार विपिन पराजुली र सूर्यप्रसाद पराजुली एउटै व्यक्तिसँग सम्बन्धित रहेकोले विवाद नहोस् भनेका छन्।

 तर, गलत नामबाट पञ्जीकृत सदस्य भेरिफाई गर्ने व्यक्तिलाई कारबाही हुनुपर्ने कार्यसमितिलाई दबाब बढिरहेको छ।

९८ प्रतिशत पञ्जीकृत सदस्यता स्वीकृत आफूले गरेको र विपिन पराजुलीको सदस्यता भेरिफाई पनि आफूले नै गरेको हुन सक्ने भन्दै महासचिव उदयराज गिरीले घुमाउरो तरिकाले जिम्मेवारी लिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad