१३ असोज (२९ सेप्टेम्बर), नेपाल दसैँको उल्लासमा थियो। हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो चाडको फूलपातीको दिन थियो। देशमा मात्र नभई विदेशका यत्रतत्र छरिएका नेपालीमा दसैँको उत्साह, उमंग थियो।
रोमानियाका नेपालीलाई पनि महान् चाडले नछुने कुरै भएन। तर, यस दिन रोमानियाको आकाशमा कालो बादल मडारियो।
राजधानी बुखारेष्टको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा आगलागीमा परी २ नेपाली युवतीको अकालमा ज्यान गयो। डायस्पोराको नेपाली समुदाय स्तब्ध भयो।
आगलागीमा मृत्यु हुनेमा इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङ थिए। रोजगारीको सिलसिलामा सोनी १ वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया आएका थिए।

यस्तै, सोही आगलागीमा परी इलामकै चुलाचुली गाउँपालिका-३ घर भएकी सुमिना मगर घाइते भइन्। उनी अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। हाल उनको अवस्था सामान्य छ। सुमिनाको अनुहार लगायत शरीरका विभिन्न भागमा आगोले भेटेको थियो।
ड्युटी भएकोले बाँचेकी थिइन् सुमिना
सोनी र सुस्मिताजस्तै सुमिना पनि ८ महिनाअघि मात्रै रोमानिया आएकी हुन्। अगलागी भएको होटल डालेमा उनीहरू ३ जना सहित म्याग्दीको बेनीका नारायण विक र चितवनका बुद्धि पौडेल गरी ५ जना नेपाली क्लिनरको काम गर्थे। पौडेल वार्षिक बिदामा हाल नेपाल छन्।
चार तले होटलको सबैभन्दा माथिल्लो तलामा सोनी, सुस्मिता र सुमिनाको सुत्ने कोठा छ। नारायण र बुद्धिको सुत्ने कोठा भने होटलसँगै जोडिएको बाहिरी भवनमा छ। पाँचै जना संयुक्त रूपमा खाना खाने गर्दथे। २९ सेप्टेम्बर पनि सधैँझैँ सँगै खाना खाए। रातको लगभग ९ बजे सुत्न गए।
‘मेरो त्यस दिन बिहान ६ बजेबाट ड्युटी थियो। सुस्मिताको ८ बजे र सोनीको १२ बजेदेखि थियो। म ठिक ६ बजे भुइँतलामा आएर सफाइको काम गर्न थालेँ। सोनी र सुस्मिता सुतिरहेका थिए। करिब ७ बजेको थियो होला बाहिरबाट ठूलो होहल्लाको आवाज आएजस्तो लागेकोले के भएछ भनेर होटल बाहिर गएर हेर्दा माथिल्लो तलाबाट आगोको मुस्लो आइरहेको थियो’, सुमिनाले त्यो कहालीलाग्दो क्षण सम्झँदै भनिन्।

त्यही बेला सोनीको फोन आयो।
‘सुमिना, हेर न माथि त आगो लाग्यो,’ सोनीको आवाज निकै आत्तिएको थियो। आफूले सोनीलाई छिटो तल आउन सुझाव दिएको सुमिना बताउँछिन्। यति भन्दै गर्दा अहिले पनि सुमिनाको बोली कापिरहेको थियो।
रोमानिया आएको भर्खर ६ महिना मात्र पुगेकी सुमिनालाई रोमानियन भाषा खासै आउँदैन। तर, आफ्ना साथीहरू अफ्ठेरोमा परेकोले भाषाको पर्बाह नगरी होटल मालिक दानियल तनासेको श्रीमतीलाई भनिन्, ‘सोनी एन्ड सुस्मिता फायर एन्ड बिग प्रोब्लेम।’ यसपछि हतार-हतार सोनीलाई फोन गरिन्। तर, उनको फोन उठेन।
डर र सन्त्रासमा परेकी सुमिनाको मस्तिष्कले के गर्ने के नगर्ने ठम्याउनै सकिरहेको थिएन। साथीहरूलाई बचाउनको लागि दौडँदै भर्याङ चढिन्। जब उनीहरूको सुत्ने कोठा भएको माथिल्लो तलामा पुगिन् उनको चप्पल पहिले नै डढिसकेको भुइँको कार्पेटमा टाँसियो। उनी अगाडि बढ्न सकिनन्। कोठाबाट निस्किएको धुवाँको मुस्लोले अगाडि केही देखिएन। त्यही बेला सुमिनालाई आगोको ठूलो लप्काले अनुहार लगायत भागमा भेट्यो। उनी माथिल्लो तलाबाट लड्दै तल आइपुगिन्। उनलाई अग्नि नियन्त्रकहरूले उठाएर प्रहरीको गाडीमा राखे। उनी सुरक्षित भइन्।

तर, दुई घण्टाअघि एउटै कोठामा सुतेका आफ्ना दुई सङ्गी भने हेर्दाहेर्दै आगोमा बिलाए।
सुमिनालाई यो घटना सपनाझैँ लाग्छ। सम्झियो भने पनि डरले पूरै शरीर काप्छ भन्छिन्।
‘हामी दिदीबहिनी जस्तो थियौँ,’ सुमिनाले व्याकुल हुँदै नेपालखबरसँग भनिन्, ‘मेरो ड्युटी भएकोले अहिले कुरा गर्न पाएको छु, ड्युटी ६ बजेबाट नभएको भए सायद म पनि…।’ गला अवरुद्ध बनेको सुमिनाको ओठले वाक्य पूरा गर्न सकेन।
आगोले भेटेको ठाउँमा घटनास्थलमा आएका स्वास्थ्यकर्मीले औषधि लगाइदिएका थिए उनलाई। त्यतिन्जेलसम्म सुमिनालाई आफ्ना साथीहरूको ज्यान गएको आभास भइसकेको थियो। तर, प्रहरी प्रशासनले हेर्न दिएन उनलाई।
त्यो भयानक पीडामा उनले सामान्य पोलेको ठानेको घाउ एकै क्षणमा ठूल-ठूला फोका बनेर फुट्न थाले। प्रहरीले उनलाई तुरुन्त अस्पताल भर्ना गर्यो। अहिले उनी डिस्चार्ज भएकी छन्। आगोले भेटेको अनुहार ऐनामा हेर्दा झसङ्ग हुन्छिन्। अनि, आउँछ सोनी र सुस्मिताको यादसँगै आँसुको भेल।
उनी त्यो कहालीलाग्दो क्षणलाई सोच्न पनि सक्दिनन्।
उनका अनुसार, त्यतिबेला होटलमा ‘फायर अलार्म’ सम्बन्धी काम भइरहेको थियो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने सुमिनाको आँकलन छ।
समाचार स्रोतका अनुसार, आगलागी भएको उक्त होटल अग्नि सुरक्षासम्बन्धी मापदण्ड नपुगेका कारण केही समय पहिले प्रशासनले बन्द गरेको थियो।
राहदानीलगायत सबै कागजात खरानी
मातृभूमि नेपालबाट लगभग ६ हजार किलोमिटरको दूरीमा रहेको रोमानियाले सुमिनाका दुई सङ्गीलाई मात्र खाएन। मृतक सोनी र सुस्मितासँगै सुमिनाको पनि राहदानीलगायतका सबै कागजात खरानी बनाइदियो।
हाल उनी राहदानीविहीन छन्। उनीसँग कुनै पनि कागजात नभएकाले रोमानियासमेत कार्यक्षेत्र भएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावास आउन सम्भव रहेन।
साथमा आगोले अनुहारमा भेटेका कारण राहदानीका लागि नयाँ फोटो खिच्ने अवस्था समेत भएन।
उनको यही समस्यालाई मध्यनजर गर्दै केही दिन पहिले बर्लिनस्थित नेपाली दूतावासमा पङ्क्तिकारले उनको नयाँ राहदानीको आवश्यक प्रक्रिया पूरा गरिदिएको थियो।
आगलागीमा परेर निधन भएका सोनी लिम्बू र सुम्निमा तामाङको शव अक्टोबर १९ मा नेपाल पुगेको थियो। परिवारले बुझेर दाहसंस्कार भएको रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले बताए।
सुमिनाको नयाँ राहदानी यथाशीघ्र बनाई पठाइदिन राहदानी विभाग, काठमाडौँमा आफूले अनुरोध गरिसकेको उपप्रमुख फुयालको भनाइ छ।
यता, भर्खरै मात्र काम गर्न गएकी छोरी/बहिनीको शव बुझ्नु पर्दा नेपालमा परिवार शोकाकुल छ।
‘बहिनीको शव त प्राप्त भयो तर खोलेर हेर्न सक्ने अवस्थामा थिएन। तर पनि आफ्नो परम्पराअनुसार दाहसंस्कार गरियो,’ सुस्मिताका दाजु सविन तामाङले नेपालखबरसँगको फोनवार्तामा भने, ‘बहिनीहरूको भयानक र दर्दनाक मृत्यु भयो। उनीहरू काम गर्ने होटलबारे विभिन्न कुरा आएका छन्। त्यसबारे दूतावास तथा रोमानियाको नेपाली समाजले सत्यतथ्य खोजी गरेर कारबाही तथा राहतको पहल गरिदेला भन्ने विश्वास छ।’

आगलागी भएको घटना, सम्बन्धित परिवारसँग सम्पर्क स्थापित र शव पहिचानसहितका खबर प्रकाशन नेपालखबरले गरेकोमा सोनीका बुबा धनराज लिम्बूले धन्यवाद दिँदै भने, ‘छोरी गुमाए पनि शव पठाइदिन सहयोग गर्नु भएकोमा तपाईँहरूलाई धन्यवाद।’
होटलमा लागेको आगो तथा सोनी र सुस्मिताको मृत्युको पुष्टिसमेत गरेका प्रत्यक्षदर्शी म्याग्दी बेनीका नारायण विक विगत ५ वर्षादेखि उक्त होटलमा काम गर्छन्।
‘सोनी र सुस्मिताको शव पूरै जलेको अवस्थामा थियो। सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको थियो,’ विकले नेपालखबरसँग भने, ‘यस्तो अवस्थामा मृत्यु भएका बहिनीहरूको परिवारलाई राहत तथा अन्य सहयोगका लागि राजदूतावासले पहल गरिदिनु पर्छ।’
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासबाट रोमानिया लगभग २ हजार किलोमिटर टाढा पर्छ। ३० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन। जसका कारण त्यहाँ रहेका नेपाली समुदायलाई प्रत्यक्ष असर परिरहेको छ।
Shares

प्रतिक्रिया