मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गएरातिदेखि परेको हिउँका कारण पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरिएको छ।
मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ।
सो टोलीले यात्रुहरूको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ। कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएराति देखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ।
यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ। सो टोली पदयात्रीहरुको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथीसम्म पुगेको छ।






Shares

प्रतिक्रिया