स्थानीय प्रशासनले आइतबार रातिदेखि सुनसरीका विभिन्न स्थानमा लगाएको कर्फ्यु आज पनि जारी छ। राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु हटाइए पनि जिल्लाका पाँच ठाउँमा अनिश्चितकालीन कर्फ्यु कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ।
सुनसरीको देवानगन्जमा आइतबार राति दुई समूहबिचको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली प्रहार गर्दा एक युवकको मृत्यु भएपछि सुनसरीको अवस्था बिग्रिएको हो।
सुनसरीको हरिनगर र देवानगञ्ज क्षेत्रमा देखिएको अशान्त वातावरण नियन्त्रण गर्न स्थानीय प्रशासनले साेमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
सुनसरीका सहयक प्रमुख जिल्ला अधिकारी पाेषण लामिछानेले हिजो पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु हटाइसकिएको तर स्थानीय बजार र बस्ती क्षेत्रमा भने अनिश्चितकालीन कर्फ्यु तथा निषेधाज्ञा कायमै रहेकाे जानकारी दिए।
हिजो बेलुका ९ बजेदेखि राजमार्गमा लगाइएको कर्फ्यु राति साढे १२ बजेदेखि नै हटाइएको उनले बताए।
‘सुनसरीका हरिनगर, भुटाहा, कप्तानगञ्ज, भुस्की र देवानगञ्ज बजारमा अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु कायमै छ,’ उनले भने।
यसैगरी हरिनगर र देवानगञ्ज गाउँपालिकाभर जारी गरिएको निषेधाज्ञालाई आज पनि निरन्तरता दिइएको छ। प्रशासनका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि ती दुवै पालिका क्षेत्रमा निषेधित आदेश कायमै रहनेछ।
राजमार्गको कर्फ्यु हटेको खबरसँगै भित्री बजार क्षेत्रमा पनि सर्वसाधारणमा अन्योल सिर्जना भएपछि प्रशासनले भित्री क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी नै रहेको भन्दै शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोगको अपील गरेको छ।
सोमबार दिनभर स्थानीयले सुनसरीका विभिन्न स्थानमा प्रदर्शन गरेर सडक अवरुद्ध गरेका थिए। अवस्थालाई सामान्य बनाउन नेपाली सेना परिचालन गरिएको छ भने घटना भएको स्थललाई सामान्य बनाउने काम भइरहेको प्रहरीले जनाएको छ।
सोमबार र साँझसम्म केही मत्थर भएको आन्दोलन मङ्गलबार बिहानैदेखि सुनसरीको लौकी र फूलचोकमा टायर बालेर फेरि प्रदर्शन सुरु गरेका छन्। बिहानसम्म अवस्था सामान्य रहेको यस क्षेत्रमा केहीबेर अघिदेखि लौकी र फूलचोक क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले नेपाल खबरलाई जानकारी दिए।
प्रहरीका अनुसार फूलचोक र लौकी क्षेत्रमा २०-२५ जनाको समूहमा भेला भएका मानिसहरूले मुख्य सडकमा टायर बालेर आवागमन प्रभावित बनाएका हुन्।
Shares

प्रतिक्रिया