वैदेशिक रोजगारीको सिलसिलामा ग्रिसमा रहेका नेपाली नागरिकलाई लक्षित गरी बिहिबारबाट राहदानी नवीकरण घुम्ती शिविर सुरु भएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वय तथा ग्रिस फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनको सक्रिय सहभागितामा भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाले शिविर सञ्चालन गरेको हो।
राजधानीमा मात्र सीमित हुँदै आएको घुम्ती शिविरलाई सेवाग्राहीको सहजताका लागि दूतावासले यस पटक दुई स्थानमा सञ्चालन गर्ने भएको छ। अप्रिल २ देखि ४ सम्म (३ दिन) मानोलादाको कोमेनित्सोताङ्का २७०५२ रोयल क्लब होटलमा शिविर सञ्चालन गर्दैछ।

त्यसैगरी, अप्रिल ५ देखि ९ तारिखसम्म ग्रिसको राजधानीस्थित पातिसियन ८१ एथेन्स १०४३४ मा हुनेछ।
राजदूतावासका नियोग उपप्रमुख लेखनाथ गौतमको नेतृत्वमा तृतीय सचिव अच्युत तिमिल्सेना तथा राहदानी विभाग काठमाडौँका अधिकृतद्वय आनन्द चुवाई सुवेदी र सुवास मगरको संयुक्त टोलीले ९ अप्रिलसम्म शिविर सञ्चालन गर्ने दूतावासले जनाएको छ।
राजदूतावासले राहदानी विभाग काठमाडौँको समन्वयमा ग्रिसमा आजबाट सुरु गरेको राहदानी तथा कन्सुलर घुम्ती सेवाबाट ३ हजार बढी सेवाग्राही लाभान्वित हुने ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका नियोग उपप्रमुख लेखनाथ गौतमले बताए।
उपप्रमुख गौतमले नेपालखबरसँग भने, ‘सेवाग्राहीहरू आफ्नो तोकिएको दिन र समयमा उपस्थित हुन अनुरोध गर्दछौँ। आवेदन दिई राजस्व जम्मा गरेका र विशेष कारणले बैङ्क ट्रान्सफर नभएका सेवाग्राहीको पनि बायोमेट्रिक्स संकलन गरिने भएकोले सेवाग्राहीले अनुशासित र संयमित भएर सेवा लिने दूतावासको विश्वास छ।’

२ वर्ष पछि मात्र शिविर सञ्चालन हुन लागेको ग्रिसमा अवैधानिक रहेका धेरै नेपालीको आफ्नो बैङ्क खातासमेत छैन भने नेपालको कुनै पनि औपचारिक कूटनीतिक संयन्त्र पनि छैन।
कूटनीतिक निकायको अभावमा ग्रिसमा रहेका नेपालीहरु सामान्य सेवाका लागि पनि २ हजार किलोमिटर टाढा रहेको अस्ट्रियाको दूतावास धाउनुपर्ने बाध्यतामा छन्। तर यस्ता घुम्ती शिविरले भने उनीहरूलाई ठूलो राहत पुर्याउँदै आएका छन् ।
ग्रिसमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको राहदानी नवीकरणमा भएको ढिलाइ लगायत अन्य समस्या समेटेर नेपालखबरले भिडियोसहितको स्टोरी प्रकाशन गरेको थियो।
भियनास्थित नेपाली राजदूतावासको अस्ट्रियासहित ग्रिस, क्रोएसिया, जर्जिया, अल्बानिया, मोन्टेनेग्रो, स्लोभेनिया, बोस्निया-हर्जगोभिना, उत्तर म्यासेडोनिया समेत ८ वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया