प्रवास


जर्मनीबाट नेपालका ऐतिहासिक हस्तलिखित सामग्री फर्काइँदै

राजदूतावाससँग भयो सम्झौता
जर्मनीबाट नेपालका ऐतिहासिक हस्तलिखित सामग्री फर्काइँदै

सम्झौतामा हस्ताक्षर गर्दै कार्यवाहक राजदूत सागरप्रसाद फुयाल र प्रोफेसर डा. आक्सेल मिखाइल्स


शेरबहादुर परियार
बैशाख ११, २०८३ शुक्रबार १९:३, मध्य युरोप

नेपालले जर्मनीको हाइडलबर्ग विश्वविद्यालयस्थित साउथ एसिया इन्टिच्युटमा रहेका नेपालका १३औँ शताब्ददेखि सन् १९५० सम्मका हस्तलिखित ऐतिहासिक सामग्री नेपाल फर्काउने भएको छ। 

हाइडलबर्ग विश्वविद्यालयमा विशेष समारोहकाबीच आज उक्त ऐतिहासिक सामग्री नेपाललाई हस्तान्तरण गर्ने महत्वपूर्ण सम्झौता सम्पन्न भएको हो। सम्झौतामा नेपाली राजदूतावास, बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल र इन्टिच्युटका संस्कृतिविद् प्रोफेसर डाक्टर आक्सेल मिखाइल्सले हस्ताक्षर गरे।

यस सम्झौतापछि नेपाललाई १३औँ देखि १८औँ शताब्दीसम्मका भूजिमोल लिपिमा संस्कृत तथा नेवारी भाषामा लेखिएका ४६५ वटा ताडपत्र, सन् १८५० देखि १९५० सम्मका शाह तथा राणा शासनकालका ३१७ वाटा अभिलेख, राणा प्रधानमन्त्रीहरूको शासनकालमा पर्यावरण सम्बन्धमा हातले लेखिएका कृतिहरू, कानुनसम्बन्धी ५ वटा पाण्डुलिपि तथा औषधि, तन्त्र, राजनीतिक नैतिकता तथा हात्ती प्रजननसम्बन्धी ४ वटा पाण्डुलिपि हस्तान्तरण हुनेछ।

नेपालको अभिलेखालयमा रहने यी सामग्रीको नेपालसम्म पुर्‍याउन लाग्ने खर्च (सिपिङ लागत) प्रोफेसर मिखाइल्सले नै बेहोर्ने बुझिएको छ।

सन् १९८० र ९० को दशकमा जर्मन व्यावसायी तथा फिलाटेलिस्ट जोसेफ पिटर रिन्डफ्लाइचले यी सामग्री संकलन गरेका थिए। नेपालका यी ऐतिहासिक सामग्री निजको सन् २००२ मा मृत्यु भएपछि उनको छोराले नेपाल फर्काउने इच्छा देखाएकोले सोही प्रयोजनका लागि सन् २०१८ मा ती सामग्री प्रोफेसर मिखाइल्सको संरक्षकत्वमा आएका थिए।

आफ्नो संरक्षकत्वमा नेपालका ऐतिहासिक हस्तलिखित सामग्री आएपछि नेपाल फर्काउन प्रोफेसर मिखाइल्सले निरन्तर प्रयास गरेका थिए। सोही क्रममा इन्टिच्युटमा अनुसन्धानकर्ताको काम गर्दै आएका डा. राजन खतिवडाले नेपाली राजदूतावास जर्मनीका तत्कालीन नियोग उपप्रमुख सागर फुयालसँग करिब अढाई वर्षअघि सम्पर्क स्थापित गरेपछि उक्त सामग्री नेपाल फर्काउने प्रक्रियाले गति लिएको थियो।

फुयालकै सक्रियतामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे तथा जर्मनीका लागि नेपालका तत्कालीन राजदूत डा. शैल रुपाखेतीले नेपालका ती ऐतिहासिक सम्पदाको अवलोकन गरेका थिए।

हस्तान्तरण सम्झौतामा हस्ताक्षरको लागि प्रोफेसर मिखाइल्सबाट प्रस्ताव आएपछि नेपालको परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट उक्त सम्झौतामा हस्ताक्षर गर्न कार्यवाहक राजदूत फुयाललाई अधिकार दिइएको थियो। 

विभिन्न मुलुकमा रहेका नेपालका मूर्ति लगायत पुरातात्विक महत्त्वका सामानहरू विभिन्न समयमा नेपालमा फर्काइएको भए पनि यति ठूलो संख्यामा नेपालका ऐतिहासिक हस्तलिखित सामाग्री नेपाल फर्काउन लागिएको यो पहिलो भएको दाबी गरिएको छ।

‘लामो समयदेखि पटक पटकको पहलपछि आज यो ऐतिहासिक सम्झौता भएको छ, अत्यन्त हर्षित र भावुक पनि भएको छु,’ सम्झौतापछि कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने।

फुयाल थप्छन्, ‘विदेशमा ठूलो संख्यामा रहेका नेपालका ऐतिहासिक हस्तलिखित सामाग्री स्वदेश फर्काउनका लागि गरिएको यो सम्झौता आफैँमा महत्त्वपूर्ण छ। यसले विभिन्न मुलुकमा रहेका नेपालका ऐतिहासिक हस्तलिखित सम्पदा स्वदेश फर्काउनको लागि मार्गदर्शन तथा उत्प्रेरणाको काम गर्नेछ भन्ने विश्वास लिएको छु।’

दूतावासले यस सम्बन्धमा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका ८ सय वर्षसम्मका पुराना हस्तलिखित सम्पदालाई संरक्षण गरी नेपाललाई हस्तान्तरण गरेकामा नेपाल सरकारको तर्फबाट प्रोफेसर डा. मिखाइल्सलाई हार्दिक धन्यवाद दिएको छ।

ऐतिहासिक हस्तलिखित सामाग्रीको यति ठूलो परिमाण हस्तान्तरण भएपछि अब जर्मनीकै अन्य विश्वविद्यालय तथा संसारका विभिन्न भागमा रहेका नेपालका ऐतिहासिक हस्तलिखित सामाग्री नेपाल फर्काउन सकिने रहेछ भन्ने उदाहरण स्थापित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad