प्रवास


१० अर्बको कोष परिचालन गर्दै एनआरएनए: हस्पिटल, स्कुल र ईभी बसमा लगानी गरिने

१० अर्बको कोष परिचालन गर्दै एनआरएनए: हस्पिटल, स्कुल र ईभी बसमा लगानी गरिने

रोविन शेरचन


नेपालखबर
चैत ८, २०८२ आइतबार ११:०, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको पुँजी र प्रविधिलाई स्वदेशको विकासमा जोड्न तीनवटा ठूला परियोजना अघि सारेको छ। संघको १२औँ एकताको महाधिवेशनपछि बसेको बैठकले स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने योजनाहरूलाई स्वीकृत गरेको हो।

यी तीन वेटै महत्वकांक्षी परियोजनाको नेतृत्व संघका वरिष्ठ उपाध्यक्ष  तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले गर्दैछन्। बैठकले दिएको म्यान्डेटअनुसार यी कामको शेरचनको नेतृत्वमा हुनेछ। एनआरएनए भित्रको ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभाग उनकै नेतृत्वमा छ।

परियोजनालाई मूर्तरुप दिन विभागले काम थालिसकेको छ।

(१) हस्पिटल र केयर होम
रोविन शेरचन नेतृत्वको विभागले अघि सारेको पहिलो प्राथमिकताको योजना 'एनआरएनए हस्पिटल' हो। यो केवल अस्पताल मात्र नभई रिटायरमेन्ट होम, केयर होम र बालबालिकाका लागि सुरक्षित वातावरणसहितको एकीकृत ‘मल्टिपल कम्प्लेक्स’ हुनेछ। विशेषगरी विदेशमा रहेका नेपालीका वृद्ध बुबा–आमाको स्वास्थ्य र स्याहार–सुसारलाई लक्षित गरी यो प्रोजेक्ट डिजाइन गरिएको छ।

(२) स्कुल: दोस्रो पुस्तालाई जरासँग जोड्ने
विदेशमा जन्मे-हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कृतिसँग जोड्न ‘एनआरएनए स्कुल’ स्थापना गरिने भएको छ। यो विद्यालयले नेपाली पाठ्यक्रम र अन्तर्राष्ट्रिय मापदण्डको शिक्षालाई फ्युजन गर्नेछ। यसबाट प्रवासमा रहेका नेपालीका छोराछोरीलाई भावनात्मक रूपमा नेपालसँग जोड्न र भविष्यमा नेपालमै आएर सेवा गर्ने वातावरण बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

(३)काठमाडौँ उपत्यकामा ईभी डबल डेकर बस
काठमाडौँको ट्राफिक जाम र प्रदूषण न्यूनीकरणका लागि एनआरएनएले विद्युतीय (ईभी) डबल डेकर बस सञ्चालनको प्रस्ताव गरेको छ। चक्रपथ र मुख्य सहरी क्षेत्रमा यी बस चलाउन काठमाडौँ महानगरपालिकासँग पनि छलफल भइरहेको छ। सार्वजनिक यातायातमा सर्वसाधारणको विश्वास जगाउन र ‘ग्रिन सिटी’ को अवधारणालाई सघाउन यो परियोजना ल्याइएको शेरचनले बताए।

१० अर्बको फण्ड र लगानीको मोडल
यी परियोजनाहरू कार्यान्वयन गर्न एनआरएनएले १० अर्ब रुपैयाँ पुँजीको ‘एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड’ लाई तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। लगानी जुटाउन पब्लिक-प्राइभेट पार्टनरसिप (पीपीपी) मोडालिटीमा काम गरिनेछ। यो बाहेक लगानीकर्ता आकर्षित गर्न अमेरिका, युरोप, एसिया, ओसेनिया, अफ्रिका र मध्यपूर्वका ६ वटै क्षेत्रीय संरचनामा 'रोड शो' आयोजना गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी जग्गा प्राप्ति र कानुनी अड्चन फुकाउन सरकारसँग समन्वय गर्ने एनआरएनएको तयारी छ।

लगानी मात्र नभइ, विदेशमा आर्जन गरेको काम गर्ने संस्कार पनि नेपाल भित्र्याउन खोजिरहेका वरिष्ठ उपाध्यक्ष शेरचन बताउँछन्। एनआरएनएले यी परियोजनामार्फत 'रिटर्न टु नेपाल' अभियानलाई थप बल पुग्ने र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad