ad ad

कारोबार


कान्तिपथमा व्यवसायका लागि तम्तयार तारे होटलसहितको वाराही कम्प्लेक्स

कान्तिपथमा व्यवसायका लागि तम्तयार तारे होटलसहितको वाराही कम्प्लेक्स

वसन्त अर्याल
भदौ ११, २०७८ शुक्रबार ११:५७, काठमाडौँ

काठमाडौंको कान्तिपथमा निर्माणाधीन तारे होटलसहितको वाराही कम्प्लेक्स दशैंबाटै सञ्चालनमा आउने भएको छ। 

पोखराबाट होटल व्यवसायमा उदाएको वाराही ग्रुपले निर्माण गरेको कम्प्लेक्स निर्माण अन्तिम चरणमा पुगेको हो। 

गत वर्ष नै होटल सञ्चालन गर्ने लक्ष्य राखिए पनि कोभिड महामारीको कारण होटल निर्माणमा ढिलाइ भएको लगानीकर्ताले बताएका छन्। 

वाराही ग्रुपले एउटै भवनमा सपिङ मलसहितको होटल निर्माण गरिरहेको छ। 

‘कोभिडको कारण वाराही कम्प्लेक्सको निर्माणमा ढिलाइ भइरहेको छ। अहिले फिनिसिङको काम भइरहेको छ’, वाराही ग्रुपका सञ्चालक विप्लव पौडेलले भने, ‘दशैँसम्म कमर्सियल (सपिङ मल) सञ्चालनमा आउँछ। होटलको लागि समय लाग्छ।’

वाराही कम्प्लेक्सको तल कमर्सियल रुपमा प्रयोग गर्ने र माथिल्लो भागमा होटल सञ्चालन हुनेछ। कमर्सियल रुपमा प्रयोग हुने फ्लोरमा भाडामा लगाउन सुरु भइसकेको छ। ३ वटा फ्लोरमा सपिङ कम्पेक्स रहनेछ भने माथि रेष्टुराँसहितको तारे होटल सञ्चालनमा आउनेछ। 

‘भदौ १५ सम्म भाडामा लगाउने काम सम्पन्न हुन्छ। भाडामा दिएका क्षेत्रमा व्यवसायीहरुले आफूअनुकूलको फर्निसिङ गरिरहेका छन्’, पौडेलले भने, ‘दशैँसम्म सबै व्यवसायीले फर्निसिङको काम सक्छन्। दशैँबाट वाराही कम्प्लेक्समा सपिङ गर्न सकिन्छ।’

कोभिड महामारीको कारण विदेशी पर्यटकको आवागमन नगन्य छ। तत्काल होटल सञ्चालन गरे पनि पर्यटक आउने सम्भावना कम रहेको पौडेल बताउँछन्। 

‘पर्यटक नआउने हुनाले निर्माणको काम सकिए पनि सञ्चालनमा आउँदैन।   सन् २०२२ को जनवरीमा होटल सञ्चालन गर्ने लक्ष्य छ’, उनले नेपालखबरसँग भने। 

कम्प्लेक्समा पर्यटक लक्षित बढी पसल हुने भए पनि सबैको लागि उपयोगी हुनेछ। कम्प्लेक्समा सपिङसँगै चारतारे होटलको मज्जा लिन सकिनेछ।

वाराही ग्रुपले चार तारे होटलको रुपमा संरचना निर्माण गरिरहेको छ। संरचना निर्माण भएपछि सरकारले चार तारे होटलको मान्यता दिनेछ।  

तारे होटलमा २ वटा रेष्टुरेन्ट रहनेछन्। जसमा स्वदेशी तथा विदेशी पर्यटकले फरक–फरक परिकारको स्वाद लिन पाउनेछन्। 

होटलमा ८० वटा कोठा छन्। जसमा ग्राहकको सुविधाअनुसार निर्मित छन्।  होटल र सपिङ मलसहितको वाराही कम्प्लेक्सको निर्माण लागत करिब १ अर्व २० करोड पुगेको छ। 

कोभिडको कारण कम्प्लेक्सको लागत बढेको पौडेलको भनाइ छ। यसमा वाराही ग्रुपको मात्रै लगानी छ। नेपाली कलात्मक होटलबाट नारायणहिटी दरबारसँगै काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। 

‘वाराही कम्प्लेक्समा हाम्रो मात्रै लगानी रहेको छ। साझेदार छैनन्’, पौडेलले भने। 

पार्किङसहित कम्प्लेक्स ४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ। 

पोखराबाट उदाएको वाराही ग्रुप
वाराही ग्रुपको लेक साइडमा होटल वाराही सञ्चालनमा छ। डिलक्स, स्विट, स्विट विङ डिलक्स रुम गरी जम्मा ८० वटा कोठा होटल वाराहीमा छन्। 

सराङकोटमा माउन्टेन लज छ। जुन यो ग्रुपले नारायण पहारीको साझेदारीमा २ वर्षअघि सञ्चालनमा ल्याएको थियो। 

३० वटा कोठा भएको माउन्टेन्ट लजमा २ वटा स्विट र २८ वटा कोठा रहेका छन्। 

पोखरामै ६० रोपनी क्षेत्रफलमा नयाँ पाँचतारे होटल बनाउने योजना अघि सारेको छ। 

ग्रुपले चितवन राष्ट्रिय निकुञ्जमा जाने पर्यटकलाई लक्षित गर्दै मेघौलीमा वाराही जंगल लज समेत सञ्चालन गरिरहेको छ। 

त्यस्तै उक्त समूहकै पोखरामा वाराही होम्सले लेकसाइडभन्दा १ किलोमिटरको दूरीमा करिब १० रोपनी क्षेत्रफलमा निर्माण गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .