कारोबार


सतर्कता केन्द्रले निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्ने

सतर्कता केन्द्रले निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्ने

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १५:६,

राष्ट्रिय सतर्कता केन्द्रले एक महिनापछि निर्माण सामग्रीको परीक्षण गर्न प्रयोगशालाको स्थापना गर्ने भएको छ। विभिन्न आयोजनामा प्रयोग हुने सिमेन्ट, बालुवा, गिट्टी र छडको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न लागिएको केन्द्रका सचिव डा ऋषिराम शर्माले जानकारी दिए।

अन्य निर्माण सामग्री एक महिनापछि नै परीक्षण गर्न सकिने भए पनि छडको परीक्षणका लागि तीन महिना कुर्नुपर्नेछ। परीक्षणको क्रममा निर्माण सामग्रीको गुणस्तर, आयोजनामा तोकिएको मात्रा अनुसार राखे/नराखेको परीक्षण गरिने केन्द्रले जनाएको छ। तीनै तहका सरकारले शुरु गरेका धेरै आयोजनामा निर्माण सामग्रीको मात्रा नमिलाउँदा गुणस्तरीय काम नभएको नागरिकको गुनासो छ।

प्रयोगशाला बनाउन गत आर्थिक वर्षमा केन्द्रले रु दुई करोडको यन्त्र खरीद गरेको थियो। केही सामग्री भने चारवर्ष अघि नै खरीद गरिएको थियो। चालु आर्थिक वर्षको शुरुमै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिए पनि प्रयोगशाला जलमग्न भएकाले काम हुन नसकेको केन्द्रले जनाएको छ।

एकहप्तामा निर्माण सामग्रीको परीक्षण सकी प्रतिवेदन दिन सकिने जनाइएको छ। केन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको भवनको भूइँतलामा प्रयोगशाला निर्माण गर्न लागेको हो। केन्द्रकै लागि बनाइएको भवनमा श्रम मन्त्रालय राखेपछि काम गर्न अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ। केन्द्र हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनको पहिलो र भूइँतलामा सञ्चालन भइरहेको छ। ठाउँ नपुगेर ग्यारेजमा समेत केन्द्रले कार्यालय चलाउनु परेको छ। एउटै कोठामा १० जनासम्म अधिकृत बसेर काम गर्नुपरेको सचिव शर्माले सुनाए।

केन्द्रमा हाल स्थानीय तहमा अनियमितता भएका उजूरी धेरै पर्न थालेका छन्। संघीय संरचना अनुसार तीन तहको सरकार बनेपनि अनियमितता एवं भ्रष्टाचार हुन लागेका घटनामा निगरानी गर्ने केन्द्रको कार्यालय संरचना विस्तार हुनसकेको छैन। उजूरी परेका विषयमा छानबिन गरी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम केन्द्रले गर्दै आएको छ । यसैगरी सुशासन प्रवद्र्धनका लागि पनि केन्द्रले सचेतनामूलक काम गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति र आयको अनुगमन गर्ने, सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारात्मक काम गर्ने जिम्मेवारी छ।

यसैगरी सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धी उजूरी सङ्कलन गर्ने, सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने काम पनि केन्द्रको हो। राष्ट्रिय गौरवका आयोजनाको केन्द्रले प्राविधिक परीक्षण पनि गर्दै आएको छ। केन्द्रले सबै आयोजनाको नियमित परीक्षण गर्दै आएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad