कारोबार


परिमाणात्मक बन्देज लाग्दै आएको सुपारी–केराउको आयात खुल्यो

परिमाणात्मक बन्देज लाग्दै आएको सुपारी–केराउको आयात खुल्यो

दीपक भट्ट
फागुन १३, २०७८ शुक्रबार १९:२४, काठमाडौँ

परिमाणात्मक बन्देज लगाइँदै आएको सुपारी, केराउ, मरिच र छोकडाको आयात खुल्ला भएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत माघ १० मै मन्त्रिपरिषद्को बैठकमा पुर्याएको यससम्बन्धी प्रस्ताव पास भएर मन्त्रालयमा आइपुगेको हो। 

शुक्रबार मन्त्रालयमा निर्णय आइपुगेको आपूर्ति मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यसअनुसार ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र १५/१५ हजार मेट्रिक टन मरिच र छोकडाको आयात खुल्ला भएको छ।  

मन्त्रालयका ती अधिकारीका अनुसार यो पटक अलि धेरै नै छलफल भएर निर्णय भएको छ। 

उनले भने, ‘तर आयात गर्ने प्रक्रिया भने गत वर्षको जस्तै हुनेछ। वाणिज्य विभागबाट आवेदन नै खुल्ला गरेर आयात गर्न दिइनेछ।’

मन्त्रिपरिषद्को बैठकमा लामो समयको छलफलपछि ट्रेडिङ कम्पनी र उद्योगी दुवैलाई यस्ता वस्तु आयात गर्न दिने भन्दै सरकारले खुल्ला गरेको हो। 

सुपारी, केराउ मरिच र छोकडा उद्योगको कच्च पदार्थको रुपपमा प्रयोग हुने र त्यसको साथसाधै उपभोक्ताहरुले त्यस्तै वस्तु सिधै समेत खपत गर्ने भन्दै ट्रेडिङ कम्पनीलाई समेत खरिद गर्न दिने भएको छ। 

२०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरिएको थियो। तर फेरि पछि सरकारले परिमाणात्मक रुपमा खुल्ला गर्ने निर्णय गरेको थियो। सोहीअनुसार चालू आर्थिक वर्षको लागि सरकारले परिमाणात्मक रुपमा आयात खुल्ला गरेको मन्त्रालयको भनाइ छ। 

चालू आर्थिक वर्षको लागि यस्ता वस्तु आयात गर्न सरकारले ठूलो कसरत गरेको छ। मुख्यतया यस्ता वस्तु स्वदेशी खपत र उद्योगलाई चाहिने गरी सरकारले आयात खुलाउन चाहेको थियो। 

सोहीअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यविधि समेत बनाएको थियो। सोही कार्यविधिअनुसारको परिमाण तोकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश भएको थियो।

उद्योग मन्त्रालयले बनाएको कार्यविधिमा के थियो?
मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद्को छलफलपछि ‘रिजेक्ट’ भएको छ। 

तर कार्यविधिमा भने नेपालमा सुपारी, केराउ, मरिच, छोकडाजस्ता कच्चा पदार्थको रुपमा  प्रयोग गर्ने उद्योगलाई मात्रै आयात गर्न दिइने उल्लेख थियो। 

हरेक वस्तु आयातको कोटा वितरण गर्न सो उद्योगको क्षमता समेत हेरिने कार्यविधिमा उल्लेख थियो। उद्योगहरुको क्षमताअनुसार मात्रै कोटा वितरण गर्ने र गत वर्ष खुल्ला गरेको परिमाणअनुसार आयात खुल्ला नगर्ने समेत स्पष्ट पारिएको थियो। 

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घटिरेहेकोले यस्ता वस्तु सकेसम्म आयात गर्न नदिने भन्दै मन्त्रिपरिषद्को छलफलमा केही विवाद समेत भएको थियो। तर उद्योगी व्यापारीको दबाबको कारण आयात खुलाउनुपरेको आपूर्ति मन्त्रालयका ती अधिकारीले बताए।

सुपारी र केराउमा चासो धेरै
चारवटा वस्तुमा आयात खुल्ला गरिए पनि केराउ र सुपारीमा धेरै चासो देखिएको छ। 
तत्कालको लागि २५ हजार मेट्रिक टन सुपारी र ८० हजार मेट्रिक टन केराउ आयात खुलाउने निर्णय भएको छ।  

नेपालमा गुट्खा उद्योगहरु २८ वटा छन्। तर २५ हजार मेट्रिक टन नै आयात गरेर खपत गर्ने किसिमका उद्योगहरु नरहेको उद्योग विभागको तथ्याङ्कले नै देखाएको छ। 

तथ्याङ्कअनुसार पनि नेपाल आयात भएर पुन विदेश निर्यात हुने स्पष्ट पार्छ। भारतमा तेस्रो मुलुकबाट आयातमा कडाइ गर्नुले नेपाली व्यापारीहरुले त्यसमा फाइदा लिन चाहन्छ। त्यस्तैगरी केराउको पनि भारतमा मागअनुसारको उत्पादन नरहेको र विदेशबाट हुने आयात कडाइ गरेको छ। 

अघिल्लो वर्ष समेत वाणिज्य विभागले वितरण गरेको कोटाभन्दा झण्डै ३ गुणा बढी सुपारी आयात गर्न व्यापारीहरुको आवेदन परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .