कारोबार


विकास खर्च ११ प्रतिशत मात्रै, प्रधानमन्त्रीले सचिवहरुलाई सोधे : यसको जिम्मेवार को हो?

विकास खर्च ११ प्रतिशत मात्रै, प्रधानमन्त्रीले सचिवहरुलाई सोधे : यसको जिम्मेवार को हो?

सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस १९, २०७९ मंगलबार १४:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास खर्चको नाजुक अवस्थाबारे मन्त्रालयका सचिवहरुसँग प्रश्न उठाएका छन्। 

मंगलबार सिंहदरबारमा ३० बुँदे निर्देशन दिने क्रममा आर्थिक वर्षको आधाआधी भइसक्दा विकास खर्च जम्मा ११ प्रतिशत मात्रै भएकोमा उनले प्रश्न उठाएका हुन्। 

'विकास खर्च हुन नसक्नाका कारण के हुन्? को जिम्मेवार हो? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने?', उनले सचिवहरुलाई सोधे, 'नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्। तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन।'

एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहँदै यो विषयमा संवेदनशील हुन उनले निर्देशन दिए।

ठूला आयोजनामा विनियोजन भएको बजेट र हालसम्मको खर्च तथा भौतिक प्रगति र विकास आयोजनामा गति तीब्र गर्ने उपायहरुको खोजी गर्न राष्ट्रिय योजना आयोगलाई उनको निर्देशन थियो। 

विकास आयोजनामा विनियोजन गरेको रकम खर्च गर्न नसकेमा अन्यत्र खर्च गर्नसक्ने कामहरुमा सारिने र जिम्मेवारी लिने तर लक्ष्यअनुसार राजस्व असुली र विकासका काम गर्न नसक्ने पदाधिकारीहरुको कामलाई कार्यसम्पादन मूल्याङ्कनसँग जोडिने उनको भनाइ थियो।

प्रधानमन्त्रीले सार्वजनिक शिक्षाको गुणस्तर उकास्न पर्याप्त प्रयास नभएको र शिक्षा क्षेत्रमा जनशक्तिको अभावको विषयसमेत सम्बोधनका क्रममा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad