कारोबार


नेपालको कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान

'देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार'
नेपालको कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १२:२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन्।

‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरू निर्माण भइरहेका छन्,’ उनले भने, ‘म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’ उनले भने।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचूर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गरे। ‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दै छ,’ उनले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु।’

साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले प्रस्ट्याए, ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्।’

नेपाल भौगोलिकरूपमा चीन र भारतबीच रहेकाले व्यापारका लागि रणनीतिक फाइदाका रूपमा लिन पनि उनले सुझाव दिए। उनले भने, ‘सार्क र बिमस्टेकलगायतका क्षेत्रीय व्यापार मञ्चहरूमा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ। नेपालको बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति हो।’

देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्ने राष्ट्रपतिको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .