ad ad

कारोबार


३ दिने अभियानमा २ लाख मान्छे भेला गर्न २० करोड खर्च गर्ने तयारीमा दुर्गा प्रसाईं

३ दिने अभियानमा २ लाख मान्छे भेला गर्न २० करोड खर्च गर्ने तयारीमा दुर्गा प्रसाईं

दीपक भट्ट
मंसिर ६, २०८० बुधबार २०:४८, काठमाडौँ

दुर्गा प्रसाईंले नागरिक मुक्ति आन्दोलनको नाम दिएर बिहीबार काठमाडौंमा देशभरका मानिस जम्मा गर्दै छन्। दुई लाख मान्छे जम्मा गर्ने दाबी सहित आयोजना भएको अभियानमा बुधबार साँझसम्म मानिसहरू जम्मा हुने क्रम जारी छ।

तीन दिन गर्ने भनिएको आन्दोलनमा ठूलो खर्च हुने आकलन गरिएको छ। आन्दोलनका लागि दुर्गा प्रसाईं आफैँले २० करोड खर्च गर्ने तयारी गरेको उनीनिकटहरू बताउँछन्।

नागरिक मुक्ति आन्दोलन सचिवालय प्रमुख यदुनाथ सिग्देलले खर्चको व्यवस्थापन भइरहेको बताए।

‘जम्मा गरेर २० करोड रुपैयाँ खर्च हुने अनुमान छ। यकिन खर्च भने कार्यक्रमहरू सम्पन्न भएपछि नै थाहा हुनेछ,’ सिग्देल भन्छन्, ‘रकमको व्यवस्थापन भने दुर्गा दाइ आफैबाट अहिले भैरहेको छ। सहयोगहरू पनि संकलन भैरहेको छ। कति सहयोग कहाँबाट आयो, त्यसको यकिन गर्ने काम भैरहेको छ। तर जता जे खर्च हुन्छ, त्यो दुर्गा दाइबाट नै भैरहेको छ।’

उनले थपे, ‘खानबस्नको लागि पार्टी प्यालेसहरूलाई जिम्मा दिइएको छ। १७ वटा पार्टी प्यालेससँग सम्झौता भएको छ। त्यसमा बाँकी पनि थप हुने छ।’

पहिलो दिन दुई लाख मानिस जम्मा हुने आकलनका साथ तयारी गरिएको उनको भनाइ छ।

‘तर केही थोरै हुने देखिएको छ। काठमाडौं आउने र यहाँ आएर खानेबस्ने सुविधा प्रदान गरिएको हो। आउने व्यक्तिहरू पनि फरकफरक छन्। कोही उपत्यकाका नै छन् भने कोही आफैँ व्यवस्थापन गर्ने समेत छन्,’ उनले भने।

तर, दुई लाख मानिस तीन दिन राख्ने हो भने सो रकमले नपुग्ने नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ भन्छन्।

नेकपा एमालेले आयोजना गरेका विभिन्न कार्यक्रमको संयोजक समेत रहिसकेका श्रेष्ठ भन्छन्, ‘२ लाख मान्छे ल्याउने र उनीहरूलाई राख्ने हो भने एक छाक खाना २ सयको दरले खुवाए पनि ४ करोड लाग्छ। यदि ३ दिन राख्ने हो भने त्यो रकमले पुग्दैन। यातायातको समेत सुविधा दिएको भन्ने छ। त्यसलाई हेर्दा यो खर्चले पुग्दैन। कि त मान्छे कम हुनुपर्‍यो।’

प्रसाईं नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले हुँदै राजावादी बनेका हुन्। तर, यो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै सहयोग नरहेको सिग्देलको दाबी छ।

‘पूर्वराजा शाहको आर्थिक सहयोग १ रुपैयाँ पनि यो अभियानमा छैन,’ उनले भने।

उनका अनुसार अहिलेसम्म नगदका अलावा दालचामल पनि सहयोगका रुपमा प्राप्त भएका छन्।

प्रसाईंले नेपालका बैंकहरूबाट अर्बौं ऋण लिएर नतिर्ने दाउ गरेको आरोप लागिरहेको छ। तर, प्रसाईंलाई त्यसलाई अस्वीकार गर्छन्।

‘धेरैले यो आन्दोलन दुर्गा प्रसाईं स्वयंको ऋणको लागि हो भन्ने पनि छ। त्यो होइन। मेरो आफ्नो ऋण तिर्नको लागि यो आन्दोलनको सुरु गरेको होइन। मेरो बैंकको ऋण छ, त्यो स्वीकार गर्छु। तर मेरो ऋणको लागि त मेरो धितो छँदैछ नि। यो सम्पूर्ण नागरिकको लागि हो,’ उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .