कारोबार


खाद्य व्यवस्थाको सीईओमा ३८ वर्षीय आचार्य, भन्छन्– स्रोतसाधन उपयोग मुख्य प्राथमिकता

खाद्य व्यवस्थाको सीईओमा ३८ वर्षीय आचार्य, भन्छन्– स्रोतसाधन उपयोग मुख्य प्राथमिकता

नेपालखबर
साउन २९, २०८१ मंगलबार १९:१९, काठमाडौँ

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा धादिङका रमेश आचार्यलाई नियुक्त गरेको छ।
खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर बनाइएको सरकारी स्वामित्वको यस कम्पनीमा सरकारले प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गरेको हो।

सरकारले पदपूर्तिका लागि गठन गरेको सिफारिस समितिले गत २०८१ वैशाख ५ मा दर्खास्त आह्वान गर्दा १२ जनाले आवेदन दिएका थिए। 
उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषद्मा पठाएको थियो। 

तीन जनामा आचार्यका अतिरिक्त गोपीकृष्ण न्यौपाने र डिल्लीराज लम्साल पनि थिए। लम्साल कम्पनीकै निमित्त कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। तिनैमध्येबाट मन्त्रिपरिषद्ले आचार्यलाई नियुक्त गरेको हो।

३८ वर्षमै सीईओ, भन्छन्– स्रोतसाधन उपयोग मुख्य प्राथमिकता
धादिङको नीलकण्ठ नगरपालिका–९, ज्यामिरे स्थायी ठेगाना भएका आचार्य यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रम व्यवस्थापक भएर काम गरेका थिए। उनले ३८ वर्षकै उमेरमा सरकारी कम्पनीको व्यवस्थापकीय नेतृत्व पाएका छन्।

दुई सरकारी संस्थान गाभेर बनाइएको यस कम्पनीको देशका विभिन्न जिल्लामा सम्पत्ति छ। ती स्रोत साधनको सदुपयोग गर्न नै आफू केन्द्रित हुने आचार्यले बताए।

उनले नेपालखबरसँग भने, ‘मैले प्रतिस्पर्धाकै चरणमा सरकारसमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेको छु। मैले यो नियुक्तिलाई मेरो योजना स्वीकृत भएको ठानेको छु। त्यसैअनुसार काम गर्छु।’ 

आफ्नो व्यावसायिक कार्ययोजनामा पनि स्रोतसाधनको सदुपयोग गरी कम्पनीलाई अधिकतम लाभ हुने गरी व्यवसायीकरण गरी लैजाने कुरालाई समावेश गरेको जानकारी उनले दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad