कारोबार


साउदीमा बन्दै छ संसारकै अग्लो टावर : हजार मिटर उचाइ, अर्बौँ लगानी

साउदीमा बन्दै छ संसारकै अग्लो टावर : हजार मिटर उचाइ, अर्बौँ लगानी

जेद्दाको आर्किटेक्चर स्वरूप। २०१८ मा निर्माण रोकिएयता पुनः थालिएको छ। (जेद्दा इकोनोमिक कम्पनी)


नेपालखबर
असोज २५, २०८१ शुक्रबार १६:३, काठमाडौँ

प्रस्तावित जेद्दा टावर अबको केही वर्षभित्रै संसारकै अग्लो भवन बन्दै छ।

विगत ७ वर्षको विलम्बपछि पुनः यसको निर्माण सुरु भएको हो। 

भ्रष्टाचारविरोधी क्रियाकलापका कारण यसको निर्माण स्थगित भएको थियो। 

यही असोज १७ मा परियोजना विकास क्षेत्र जेद्दा इकोनोमिक कम्पनी (जेईसी)मा एक कार्यक्रम आयोजना गरी सन् २०२८ भित्रै यसको निर्माण पूरा गर्ने घोषणा गरिएको छ।

१००० मिटर अग्लो गगनचुम्बी भवन सन् २०१७ मै एक तिहाइ निर्माण सम्पन्न भइसकेको थियो। त्यही बेला यसका मुख्य ठेकेदार र यसमा सहलगानी गरेको विकासकर्ता समूह दुवैका मुख्य व्यक्ति साउदी राजकुमार मोहम्मद बिन सलमानको भ्रष्टाचारविरोधी अभियानका क्रममा समातिए। यो परियोजनामा भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि सयौँ प्रश्न गरिएको थियो।

उनीहरु समातिएपछि पनि यसको काम चलिरहेकै थियो। तर सन् २०१८ यता भने काम रोकिनपुग्यो। यसका बाबजुद जेईसीले काम चलिरहने बताए पनि कोभिड १९ को महामारीले दिएन। 

यो हप्ताको नयाँ घोषणाका क्रममा त्यतिबेला समातिएकामध्ये एक साउदी राजकुमार अलवालिद बिन तलाल पनि उपस्थित थिए। उनी किंग्डम होल्डिङ कम्पनीका प्रमुख समेत हुन् भने यो परियोजनाका मुख्य लगानीकर्ता पनि रहेका छन्। समातिएको ३ महिनामा उनी छुटेका थिए। 

यो घोषणापछि अलवालिदले सामाजिक सञ्जाल एक्समा टावरको डिजिटल तस्बिर पोस्ट गर्दै ‘हामी फर्किएका छौँ’ लेखेका थिए।

समातिनेमध्ये अर्का व्यक्ति यही परियोजनाका मुख्य ठेकेदार साउदी बिनलादेन ग्रुपका बकर बिन लादेन पनि हुन्। उनी कुख्यात ओसामा बिन लादेनका नाताले भाइ पर्ने व्यक्ति हुन्। लादेन पनि २०२१ मा ३ वर्षको जेलजीवनबाट मुक्त भएका थिए। जेद्दा टावर परियोजनामा उनको पारिवारिक कम्पनीको पनि सेयर लगानी छ। यसैले टावर तयार गर्ने जिम्मा पाएको छ। 

सन् २०१८ मा जेद्दा टावरको काम बीचैमा रोकिनपुगेको थियो (शटरस्टक/ईपीए/ईएफई)

घोषणाअनुसार साउदी बिन लादेन ग्रुपको नयाँ सम्झौता ७.२ अर्ब रियाल अर्थात् १.९ अर्ब अमेरिकी डलर छ। यसमध्ये १.१ अर्ब रियाल यसअघि नै लगानी भइसकेको छ। हाल १५७ तलामध्ये ६३ वटा बनाइसकिएको छ। 

अमेरिकी कम्पनी माक्सार टेक्नोलोजीले न्युजविकलाई केही समयअघि उपलब्ध गराएको स्याटेलाइट तस्बिरअनुसार टावर निर्माणको काम थालिसकिएको छ। 

सन् २०२३ को सेप्टेम्बरमा दुबईको मीड म्यागेजिनले जेईसीले ठेकेदारहरुलाई बोलपत्रमा सहभागी हुन आह्वान गरेको थियो। 

कस्तो छ डिजाइन? 
यसअघि किंगडम टावर भनिएको जेद्दा टावर निर्माणको थालनी सन् २०१३ मै भएको थियो। त्यसअनुसार २०२० मै बनाइसकिने समय तोकिएको थियो। 

यो टावर बन्दा दुबईको बुर्ज खलिफाभन्दा ५९१ फिट (१८० मिटर) अग्लो हुनेछ भने खलिफाले कमाएको संसारकै अग्लो भवनको कीर्तिमान पनि भंग हुनेछ। 

यसमा विशेषतः अफिस, खुद्रा र आवासीय स्पेस रहनेछन्। सन् २०११ को पहिलो योजनाअनुसार यसमा एक होटल, शपिङ मल र संसारकै अग्लो अवलोकन गर्ने ठाउँ रहने भनिएको थियो। 

जेद्दा इकोनोमिक कम्पनीले यो टावर २०२८ सम्म निर्माण सकिने बताएको छ (किंग्डम होल्डिङ कम्पनी)

हाल यसको पहिलो योजना बदलिएकोबारे केही बताइएको छैन। 

यसको डिजाइन अमेरिकी आर्किटेक आड्रियन स्मिथले गरेका थिए। उनले डिजाइनमा ‘थ्रि–पेटल’ फुटप्रिन्ट र ‘टेपर्ड एरोडाइनामिक’ आकार (माथितिर पातलिँदो) समावेश गरेका थिए। यति धेरै उचाइमा प्राविधिक चुनौतीलाई सहज बनाउन यसो गरिएको थियो। आड्रियनको सिकागोको अभ्यास (आड्रियन र गोर्डन गिल)अनुसार टावरको आकारले ‘जमिनबाट माथि उठेका पातहरु’लाई दर्शाउनेछ। 

योजनाअनुसार यसमा ५९ वटा फरक एलिभेटरहरु रहनेछन् जसलाई कम्पनीले ‘संसारकै अत्यन्त आकर्षक एलिभेटर प्रणाली’ भनेको छ। 

५ करोड ७० लाख वर्गफुट जमिनमा बन्ने यो टावर २० अर्ब अमेरिकी डलरको जेद्दा आर्थिक सहर हुनेछ। सीएनएनबाट भावानुदित 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad