गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा अघिल्लो आवको तुलनामा २.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आवको चौथो त्रैमासिकको जीडीपी वृद्धिदरको प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो।
‘यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्यअभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन्’, कार्यालयले भनेको छ।
यसबाहेक व्यापार क्षेत्र, यातायात, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा समेत वृद्धि देखिँदा अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख देखिएको छ।
त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक जीडीपी आधारभूत मूल्यमा आव २०८०/८१ को तेस्रो त्रैमासिकको तुलनामा चौथो अवधिमा १ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। यस अवधिमा १८ मध्ये १६ औद्योगिक क्षेत्रमा भएको सामान्य वृद्धिको प्रभावले समग्र जीडीपीमा पनि सामान्य वृद्धि देखिएको हो।
२०८०/०८१ को चौथो त्रैमासिक र अघिल्लो आव २०७९/०८० को चौथो त्रैमासिकबीचको तुलनामा १८ औद्योगिक वर्गीकरणमध्ये १५ वटाको कुल मूल्यअभिवृद्धि वृद्धिदर धनात्मक छ। जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलपाको सबैभन्दा धेरै वृद्धिदर १२.३ प्रतिशत हुँदा यातायात तथा गोदाम क्षेत्रले १०.९ प्रतिशत वृद्धि हासिल गरेको छ। यो दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र हो।
यता सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले पनि १०.८ प्रतिशत वृद्धिदर कायम गरेको कार्यालयले जनाएको छ। त्यसैगरी निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर ६.२ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
निर्माण क्षेत्रमा ठूलो संकुचन
उक्त क्षेत्रमा वृद्धि देखिए पनि निर्माण क्षेत्रमा भने ठूलो संकुचन हुने देखिएको छ। चौथो त्रैमासिक अवधिमा सबैभन्दा धेरै अर्थात् १३.४ प्रतिशत संकुचन देखिएको हो। यसपछि ग्यास र सूचना प्रविधि क्षेत्रले पनि ऋणात्मक वृद्धिको सामना गर्ने देखिएको छ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर ३.२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार २ प्रतिशतले बढ्ने देखिँदा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर १.१ प्रतिशतले धनात्मक देखिएको छ।
कार्यालयका अनुसार अघिल्लो आवको चौथो त्रैमासिकको तुलनामा गत आवको सोही अवधिमा औद्योगिक वस्तुको उत्पादनमा खासै सुधार आउन नसकेको देखिएको छ। सोही कारण यस क्षेत्रको वृद्धिदर पनि सामान्य रहन गएको कार्यालयले उल्लेख गरेको छ।
कहिले घट्ने, कहिले बढ्ने गरेर नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय नगरिरहेको कार्यालयको निष्कर्ष छ।
मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिअनुसार २०८०/०८१ को तेस्रो त्रैमासिक (माघ, फागुन र चैत)को तुलनामा चौथो त्रैमासिक (वैशाख, जेठ र असार)को प्रारम्भिक अनुमानअनुसार प्रस्तुत गरिएका कुल १८ मध्ये १६ औद्योगिक क्षेत्रको उत्पादन बढेको देखिएको छ भने दुईवटाको उत्पादन घटेको कार्यालयले जनाएको छ।
खानी तथा उत्खनन क्षेत्रमा सबैभन्दा बढी २३.४ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउादै विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरिएको छ। यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्या क्षेत्रको वृद्धिदर नगण्य रुपमा ०.१ प्रतिशत हुने र समग्र अर्थतन्त्रको वृद्धिदर १ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। ऋणात्मक वृद्धि हुने दुई क्षेत्रमध्ये सबैभन्दा धेरै सूचना तथा प्रविधि क्षेत्रको ऋणात्मक वृद्धिदर –४.९ प्रतिशत र यातायात तथा गोदाम क्षेत्रको –४.१ प्रतिशत छ।
Shares

प्रतिक्रिया