कारोबार


बढ्ने अपेक्षा गरिए पनि झन् घट्यो सिमेन्ट निर्यात, उद्योगी भन्छन्- माग नै कम छ

भारतले बीआईएस नवीकरण नगर्दा १ महिनादेखि निकासी ठप्प
बढ्ने अपेक्षा गरिए पनि झन् घट्यो सिमेन्ट निर्यात, उद्योगी भन्छन्- माग नै कम छ

राजेश अग्रवाल र पशुपति मुरारका


वसन्त अर्याल
कात्तिक १०, २०८१ शनिबार ९:५१, काठमाडौँ

चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा बढ्ने अपेक्षा गरिएको सिमेन्ट निर्यात झन् घटेको छ।

आर्थिक वर्ष २०७९/८० बाट सरकारले अनुदान दिएर सिमेन्ट निर्यात बढाउने उद्देश्य लिएको थियो। तर पनि सिमेन्ट निकासी बढ्न नसकेको हो। 

सबैभन्दा बढी आव २०८०/०८१ मा ३ अर्ब ८५ करोडको सिमेन्ट निर्यात भएको थियो। 

उद्योगीले वार्षिक डेढ खर्बको निर्यात गर्ने दाबी गरे पनि निर्यात घटेको हो। 

नेपालले बितेको ३ महिनामा ४९ करोडको सिमेन्ट निर्यात मात्रै गरेको छ। जसमा सिमेन्ट क्लिंकर १० करोड रुपैयाँको निर्यात भएको छ भने पोर्टल्यान्ड सिमेन्ट ३९ करोडको निर्यात भएको भन्सार विभागले जनाएको छ। 

गत वर्ष सोही अवधिमा ४६ करोड रुपैयाँको क्लिंकर मात्रै निर्यात भएको थियो भने पोर्टल्यान्ड सिमेन्ट ३८ करोड रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७९/०८० मा भने २ करोड रुपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। 

नेपालमा निर्माणका काम घट्दा निर्यातबाट उद्योग चलाउने गरेका थिए।  नेपाली उद्योगीले भारतीय सिमेन्ट उद्योगलाई क्लिंकर निर्यात गरेर आम्दानी गर्दै आएका थिए। चालू आर्थिक वर्षमा सिमेन्टको निर्यात उस्तै भए पनि क्लिंकर घटेको छ।

के भन्छन् उद्योगी? 
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले आफूहरुले १ महिनादेखि भारतमा निर्यात गर्न नसकेको बताए।

ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)को म्याद सकिएकाले निर्यात रोकिएको उनको भनाइ छ।

‘निर्यात गर्नेमध्ये अर्घाखाँची सिमेन्टको हिस्सा बढी थियो। एक महिनादेखि पठाउनसकेका छैनौँ’, मुरारकाले भने, ‘भारतले बीआईएस नवीकरण गरिदिने भनेको छ। नवीकरण हुनेबित्तिकै निर्यात सुरु हुन्छ।’

हरेक २ वर्षमा सिमेन्ट उद्योगले निर्यात गर्नका लागि बीआईएसबाट गुणस्तरको नवीकरण गर्नुपर्छ। 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भारतमा सिमेन्टको माग नै कम भएकाले सिमेन्ट निर्यातमा कमी आएको बताए। 

‘सिमेन्टको निर्यातमा धेरै गिरावट आएको छैन’, तानसेन सिमेन्टको सञ्चालक समेत रहेका अग्रवालले भने, ‘क्लिंकर निर्यात धेरै घटेको देखिन्छ।’

उनले चाडपर्वको समयमा भारतमा समेत सिमेन्टको माग नै घटेकाले निर्यात घटेको उल्लेख गरे। 

‘अहिले भारतीय बजारमा सिमेन्टको बिक्री कम भयो। अब छठपछि फेरि बढ्ने देखिन्छ’, अग्रवालले भने, ‘सिमेन्ट निर्यातले फेरि पिकअप लिने विश्वास छ।’

भारतीय सिमेन्ट उद्योगलाई क्लिंकर नेपालबाटै लैजाँदा सहज हुने नेपाली व्यवसायी बताउँछन्। क्लिंकर सिमेन्ट बनाउनको लागि तयारी अवस्थाको कच्चा पदार्थ हो। 

‘भारतको युपी (उत्तर प्रदेश) र बिहारमा चुनढुंगाको खानी छैन। नेपालको चुनढुंगाको बजार प्रशस्त रहेको छ’, उनले थपे, ‘चाडपर्वपछि उताका सिमेन्ट उद्योग पनि पूर्ण सञ्चालनमा आउँदा हाम्रो निर्यात बढ्छ।’

सिमेन्ट उद्योगीले गत आर्थिक वर्षसम्म निर्यातबापत नगद अनुदान नपाएको गुनासो गरेका थिए। तर अहिले सरकारले उनीहरुलाई प्रोत्साहनबापतको अनुदान दिइसकेको छ।

‘हामीले निर्यात गरेको आधारमा राष्ट्र बैंकले हाम्रो खातामा पैसा राखिदिएको छ’, उद्योगी मुरारकाले भने, ‘अहिले अनुदानको समस्या छैन। निर्यात गर्नसके अनुदान पाएकै छौँ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भारतले नेपाली निर्यात हुने वस्तुमा गुणस्तर नवीकरण गर्न समय लगाउँदा निर्यातमा कमी आएको बताए। 

‘भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डले नेपाली निर्यातकर्ताले आवेदन दिँदा पनि नवीकरण गर्न ढिलाइ गर्दा सिमेन्ट निर्यात घटेको बुझेका छौँ’, द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख समेत रहेका अधिकारीले भने, ‘रोकिएका आवेदन अगाडि बढाएकाले अब निर्यात बढ्ने अपेक्षा गरेका छौँ।’

सरकारले सिमेन्ट निर्यातसम्बन्धी कार्यविधिले ५० करोड रुपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिन सकिने व्यवस्था गरेको छ। ३० प्रतिशत भ्यालु एड (मूल्यअभिवृद्धि) गरी ५० करोड बढी निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। ५० करोडभन्दा कम निर्यात गर्नेले कुल निर्यातको ४ प्रतिशतले हुन आउने रकम अनुदान पाउनेछन्।   

सिमेन्ट उद्योगले १ वर्षअघि निर्यात गरेको परिमाणभन्दा २० प्रतिशतले बढी निर्यात गरेमा १ प्रतिशत रकम थप अनुदान दिने व्यवस्था कार्यविधिमा छ। केही सिमेन्ट उद्योगीले कार्यविधिमा ५० करोड राख्दा साना उद्योगले फाइदा लिन नसकेको बताउँदै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad