नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती गरे पनि भैरहवामा ३ वटा कम्पनीको मात्रै उडान तालिका स्वीकृत गरेको छ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र जजिराले यसअघिकै उडानलाई भैरहवाबाट निरन्तरता दिने भएका हुन् भने फ्लाई दुवईले दैनिक एक उडान गर्ने प्राधिकरणले जनाएको छ।
यसअघि भैरहवामा उडान गरेको हिमालय एयरलाइन्सले भने उडान तालिकाको अनुमति नै लिएका छैनन्। अहिले भैरहवा विमानस्थलबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन।
फ्लाई दुवईले नोभेम्बर ९ देखि दुवई–भैरहवा–काठमाडौं–दुवई उडान गर्नेछ। फ्लाई दुवईले हरेक दिन भैरहवालाई ट्रान्जिट बनाएर काठमाडौं उडान गर्ने तालिका स्वीकृत गराएको छ।
नेपाल एयरलाइन्सको काठमाडौ–क्वालालम्पुर–भैरहवा–काठमाडौंको हरेक सोमबार उडान तालिका छ। नेपाल एयरलाइन्सले कात्तिक ११ गतेबाटै उडान तालिका भए पनि उडान गरेको छैन।
नेपाल एयरलाइन्सले समेत ट्रान्जिटको रुपमा मात्रै उडान गर्नेछ।
छठपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे ९ बजे नै बन्द हुने
जजिरा एयरवेजको हरेक मंगलबार, बिहीबार र शनिबार भैरहवा उडान तालिका छ। जजिरा एयरले भने कुवेत–भैरहवा सिधा उडान गर्नेछ।
सरकारले भैरहवा र पोखराबाट उडान भर्ने कम्पनीले हवाइ इन्धनमा छुट, विमानस्थलको सेवा शुल्क लगायतमा छुट दिए पनि कम्पनीहरु आकर्षित हुन नसकेका हुन्।
भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवाबाट सिधा उडान गर्न कुनै समस्या नभए पनि मेडिकल गर्न काठमाडौं जानुपर्ने अवस्था रहेको बताए।
‘उडानको अघि मेडिकल गर्नुपर्छ। खाडी मुलुकसहित मलेसियाले तोकेका स्वास्थ्य संस्था काठमाडौंमै छन्’, महाप्रबन्धक तिवारीले भने, ‘एयरलाइन्सले यात्रुलाई कस्तो सुविधा दिएर भैरहवा ल्याउँछ, कम्पनीकै विषय हो।’
थाई एयर एसियाले काठमाडौं र भैरहवामा उडान गर्ने अनुमति लिएको थियो। तर हिउँदेयामको उडान तालिका स्वीकृत नगराएकाले भैरहवा उडान अनिश्चित भएको छ। आइतबार उडान तालिका अनुमतिविनै काठमाडौं आएको जहाजलाई प्राधिकरणले कारबाही गरेको थियो।
त्रिभुवन विमानस्थल १० घण्टा बढी बन्द हुने
कात्तिक २३ गतेबाट काठमाडौं विमानस्थल राति साढे ९ बाटै विमानस्थल बन्द हुनेछ।
त्रिभुवन विमानस्थल ट्याक्सी वे लगायतका पूर्वधार विस्तार हुने भएकाले १० घण्टा बढी बन्द हुन लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्मको उडान तालिका सार्वजनिक गर्दै बेलुकी साढे ९ देखि बिहान ८ बजेसम्म बन्द हुने उल्लेख गरेको छ।
‘पहिलाको सूचनाअनुसार उडान कटौती भएका छन्। नयाँ तालिका जारी गरिसकेका छौँ’, नागरिक उड्डयन प्राधिकरणका डेप्युटी म्यानेजर ज्ञानेन्द्र भुलले भने, ‘नोभेम्बर ८ पछि नयाँ तालिकाअनुसार उडान हुन्छ।’
बिहान ८ः०५ मै हिमालय एयरलाइन्सको पहिलो जहाज अवतरण गर्ने तालिका छ।
राति ९ः३५ मा नेपाल एयरलाइन्सको अन्तिम उडानसँगै विमानस्थल बन्द रहनेछ।
Shares

प्रतिक्रिया