कारोबार


१५ सयमै चाँदीको थालमा ‘राणा थाली’

बबरमहल रिभिजिटेडमा १०० वर्ष पहिलेको विलासी स्वाद

सरोज नेपाल
मंसिर ८ , काठमाडौँ

एक सय चार वर्ष नेपालमा राज गरेका राणाहरुको जीवनशैलीबारे नजिकबाट नियाल्न पाउनुभएको छ? पक्कै पनि छैन होला।

किनभने नेपालमा प्रजातन्त्र आइसकेपछि राणाहरुको शक्ति मात्रै सकिएन, विलासी जीवनशैली पनि हराउँदै गयो। उनीहरुको खानपिनको स्वभाव पुस्तान्तरसँगै हरायो।  

विलासिताको पर्यायजस्तै बनेको राणाहरुको जीवनशैलीलाई पुनर्ताजगी दिन माइतीघरमा रहेको बबरमहल रिभिजिटेडले अहिलेका नवपुस्ताहरुलाई राणाकालीन खाना पस्किँदै आएको छ।

चन्द्रशमशेरका सन्तति गौतम र सिद्धार्थ शमशेरले सञ्चालनमा ल्याएको रिभिजिटेडअन्तर्गतकै बैठक रेस्टुराँमा बसेर जो कोहीले पनि एक सय वर्ष पुरानो राणाकालीन भोगविलासको अनुभव लिन सक्छन्। 

एक छिन नै सही, चाँदीको थालीमा थरिथरिका परिकारहरुको स्वाद लिँदै आफैँलाई राणाकालीन युगमा फर्काउन सक्छन्। वरिपरिको वातावरण, राणाकालीन सेवकहरुको पोसाकमा खटिएका कर्मचारी, लोकल स्वादसहित चाँदीका थालमा सजिएका खानाहरुले राणाकालीन स्वाद जो कोहीले शासकीय शैलीमा लिन सक्छन्।

बैठक रेस्टुराँभित्र छिर्नेबित्तिकै कर्मचारीको आतिथ्यता सुरुमै देखिन्छ। अझ रेस्टुराँको प्रमुख आकर्षणको रुपमा राखिएको ‘राणाज थाली’ मगाउनुभयो भने थालीमा भातमात्रै आउँदैन, खानाअगाडिको कम्प्लिमेन्ट्रीको रुपमा सुरुमा प्रोटिनयुक्त क्वाँटीको सुप पाउनुहुनेछ। जसले तपाईंलाई रेस्टुराँबाट घरमा पुर्‍याउनेछ। 

घरमा चाडपर्वको बेला खाने विभिन्न थरिका गेडागुडी मिसाएर पकाइने क्वाँटीको सुपले पाहुनाको स्वागत गरिन्छ। सुपमा ८ प्रकारका गेडागुडी मिसाइएको हुन्छ। गफ गर्दै सुप लिइसकेपछि तपाईंले अर्को कम्प्लिमेन्ट्रीअन्तर्गत चाँदीको सानो थालीमा आलुको अचार, बारा र शाकाहारी भए शाकाहारी र मांसाहारी भए सोही मम, टमाटरको चटनी पनि पाउनुहुनेछ।

मम थोरै हुँदा यसले जो कोहीलाई थप खान रहर जगाउँछ। योसँगै नेवारी समुदायमा चर्चित मदिरा ‘ऐला’ पनि दिइन्छ। ऐलासँग तपाईंले गफ गर्दै राणाथालीभन्दा अगाडि आएको कम्प्लिमेन्ट्री फुडसँग रमाउन सकिन्छ। यो खाउन्जेल तपाईंले वरपर रहेको राणाकाल सम्झाउने परिदृश्यको साक्षात्कार गर्न सक्नुहुनेछ। 

आकर्षक राणाथाली, १२ थरि परिकार
यी दुवै परिकारको स्वाद लिइसकेपछि बल्ल तपाईंलाई राणाथालीमा खाना पस्किइन्छ। खानासँगै यो थाली आफैँमा आकर्षणका केन्द्र पनि हो। 

चाँदीको थाल। यो सामान्य प्रकारको थाल भने होइन। सर्वसाधारणभन्दा फरक हुनका लागि राणाहरुले सुन र चाँदीका खुट्टीसहितको थालमा खाना खाने गर्दथे। यसले राणाहरुको विलासी जीवनलाई चिनाउँथ्यो। 

तपाईंले पनि त्यस्तै खुट्टीसहितका चाँदीको थालमा खानाको स्वाद लिन सक्नुहुनेछ। तामामा चाँदीको कोटिङ गरी तयार पारिएको विशेष प्रकारको थालीमा तपाईंले आफ्नो स्वादअनुसार शाकाहारी र मांसाहारी दुवै खानाको स्वाद लिन सक्नुहुनेछ। 

जसमा अर्गानिक दाल र सेफ्रोन राइस (केशर मिसाइएको भात) पस्किइन्छ। योसँगै खण्ड–खण्ड परेको उक्त थालीमा लुचिपुरी, मौसमी साग, बैगनको अचार, टमाटरको चटनी, आलु, मुला र केराउको अचार राखिन्छन्। शाकाहारीको लागि यसमा च्याउको विशेष प्रकारको तरकारी राखिन्छ भने मांसाहारीहरुका लागि स्वादअनुसार ‘चिकन र मटन करी’ राखिन्छ। 

यसरी तपाईंले एउटै थालीमा १२ थरिका परिकारहरुको स्वाद लिन सक्नुहुनेछ भने अन्तमा कफीको चुस्कीसँगै राणाकालीन विलासी अनुभव बोकेर क्याफेबाट बाहिरिनुहुन्छ। 

रेस्टुराँले राणाज थालीमा मात्रै यी परिकारहरु पस्किने गर्छ। जसका लागि १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। 

सञ्चालक गौतम शमशेर राणाका कान्छा छोरा वरुण गौतम सस्तो मूल्यमा राणाहरुको खानाको स्वाद सर्वसाधारणलाई पस्किनकै लागि बैठक रेस्टुराँ सञ्चालनमा ल्याएको बताउँछन्। 

बुबा र काकाले सञ्चालनमा ल्याएपछि अहिले गौतमका दुई छोरा विराज र वरुणले विलाससहित सञ्चालनमा हात बढाइरहेका छन्।

उनीहरुले काठमाडौँमै बसेर एक सय वर्ष पहिलेको विलासी स्वादलाई सस्तो मूल्यमै स्वादका पारखीहरुसम्म पुर्‍याउन खटिएका छन्। 

मंसिर ८, २०८१ शनिबार १०:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad