चालु आर्थिक वर्षको पुस मसान्तमा घरजग्गा कारोबारमा वृद्धि भएको छ।
भूमी व्यवस्था तथा अभिलेख विभागका अनुसार पुस मसान्तमा ४७ हजार ४ सय ७९ वटा घरजग्गा कारोबार भएका हुन्।
यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले धेरै हो। मंसिरमा देशैभरी ४३ हजार ३ सय वटा घरजग्गा कारोबार भएका थिए।
बैंक तथा वित्तीय संस्थाहरूबाट जाने कर्जा सुस्त गतिमै भएपनि बढ्न थालेपछि त्यसको असर घरजग्गा व्यवसायमा देखिन थालेको हो।
मंसिर महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह बढाउन नसक्दा कर्जा निक्षेप अनुपात ७८ प्रतिशतमा सिमित थियो।
पुस मसान्तमा आइपुग्दा भने यस्तो रेसियो बढेर ७९.२० प्रतिशतमा आइपुगेको हो। उक्त तथ्यांकले बैंकहरूबाट कर्जा प्रवाह सुस्त गतिमै भएपनि बढ्न थालेको बुझाउँछ। यसको असर घरजग्गामा पनि देखिन थालेको हो।
गत पुस मा ४५ हजार २ सय ७७ वटा घरजग्गा कारोबार भएका थिए। गत आवको तुलना पनि यो वर्षको पुसमा कारोबार बढेको हो।
कारोबार सँगै सरकारले उठाउने राजस्व पनि बढेको छ। पुस मसान्तमा सरकारले ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
Shares

प्रतिक्रिया