लक्ष्मी सन्राईज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि.बीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्लाको घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ।
सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ छ। यो सहकार्यले नेपालको नविकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।
घुन्सा खोला जलविद्युत् आयोजनाले २०७९ साउन ८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिनुका साथै २०८१ वैशाख २१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ।
सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरु बाट लगानी रहनेछ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ५ अर्ब छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्ये हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख छ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारणलाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ।
Shares

प्रतिक्रिया