कारोबार


चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

नेपालखबर
चैत ८, २०८१ शुक्रबार २१:३५, काठमाडौँ

चितवन । यहाँ उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो ।

भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मन निर्यात गर्न थालिएको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।’

सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उनले बताए ।

तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ ।

उनले भने, ‘सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।’

सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए । गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ । उनका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।
 
यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ । जर्मन जाने गाजर प्रतिकिलो रु २० र चुकन्दर रु ५० मा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । 

सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उनले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गरे ।
 
उनले भने, ‘अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।’

यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौँलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताए । रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad