कारोबार


कम्पनीले नयाँ योजना ल्याएनन्, बिमा सरेन्डर बढ्ने क्रम पनि रोकिएन

कम्पनीले नयाँ योजना ल्याएनन्, बिमा सरेन्डर बढ्ने क्रम पनि रोकिएन

नेपालखबर
चैत १४, २०८१ बिहिबार १८:६, काठमाडौँ

जीवन बिमा कम्पनीहरुले आकर्षित गर्न नसक्दा गरेको बिमा छोड्ने क्रमले निरन्तरता पाएको छ। बिमामा बिमितहरुको रुचि घट्दा सरेन्डरको ग्राफ बढेको हो।

फागनुमा मात्र ९ हजारको संख्यामा बिमालेख त्याग भएको नेपाल बिमा प्राधिकरणले उल्लेख गरेको छ। गत महिना १ अर्ब २८ करोड रुपैयाँबराबरको ९ हजार ३१ वटा बिमालेख त्याग भएको हो। 

समग्रमा १४ वटा जीवन बिमा कम्पनीहरुको ९ अर्ब ८७ करोड रुपैयाँबराबरको ७१ हजार ५ सय ५४ वटा बिमालेख त्याग भएका छन्।

माघ मसान्तसम्म ६२ हजार ५ सय २३ वटा बिमालेख त्याग भएकोमा फागुन महिनामा बिमितले थप ९ हजार बिमालेख त्यागेका हुन् ।

बीचैमा बिमालेख छोड्ने तथा बिमालेख सरेन्डर गर्ने संख्या क्रमिक रुपमा बढिरहेको छ। कम्पनीहरुले नियन्त्रणमा ल्याउन नसक्ने गरी सरेन्डरको ग्राफ उकालो लाग्दा बिमा व्यवसायीहरुको नाफामा असर परेको छ।

बिमालेख खरिद गरेर तीन किस्ता तिरिसकेकाहरुले पनि धमाधम बिमालेख त्याग गर्न थालेका छन्। जसले गर्दा चालू आवबाटै बिमा कम्पनीहरुको मासिक १ अर्बबराबरको बिमालेख त्याग भएको छ।

प्राधिकरणका अनुसार व्यावसायिक रुपमा अगाडि रहेको लाइफ इन्स्योेरेन्स कम्पनीको सबैभन्दा धेरै बिमालेख त्याग भएका छन्। 

यो कम्पनीको फागुन मसान्तसम्म ३ अर्ब ९ करोड रुपैयाँ बराबरको १७ हजार ८ सय ८९ वटा बिमालेख त्याग भएका  हुन्।

योबाहेक नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ६३ करोड रुपैयाँबराबरको १५ हजार ५ सय ७२ वटा बिमालेख त्याग हुँदा अन्य कम्पनीको भने अर्बभन्दा तल नै छ।

जसमा राष्ट्रिय जीवन बिमा कम्पनीको ९२ करोडको १० हजार १ सय ४६ वटा, एसियन लाइफको ६१ करोडको ५ हजार ८ सय २४ वटा, नेशनल लाइफको ६० करोडको ४ हजार १ सय ६० वटा र सूर्यज्योति लाइफको ५३ करोडको ३ हजार ९ सय ६३ वटा बिमालेख त्याग भएका हुन्।

योबाहेक मेट लाइफको २७ करोडको २ हजार ३ सय ७८ वटा बिमालेख त्याग हुँदा सानिमा रिलायन्सको १७ करोडको १ हजार २ सय ४७ वटा, सिटिजन लाइफको १८ करोडको १ हजार ९ सय ५९ वटा, आईएमई लाइफको १३ करोडको १ हजार १९० वटा, प्रभु महालक्ष्मीको १४ करोडको १ हजार २० वटा, रिलायबल नेपालको ७ करोडको १ हजार ९६ वटा र सन नेपाल लाइफको ५ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएका हुन्।

बिमालेख त्याग्ने बिमितको संख्या बढ्न थालेपछि बिमा कम्पनीहरुले विभिन्न नयाँ बिमा प्रोडक्ट बजारमा ल्याउन थालेका छन्। योसँगै चालू रहेको बिमालेखलाई बिमितले निरन्तरता दिऊन् भन्नका लागि बिमाशुल्कमा लाग्ने जरिवानामा पनि जीवन बिमा कम्पनीहरुले शतप्रतिशतसम्म छुट दिँदै आएका छन्।

बिमालेख पुनर्जागरण नगरी बसेका बिमितहरुलाई तान्नकै लागि पनि कम्पनीहरुले बिमालेखमा लाग्ने जरिवाना शुल्क मिनाहा सुविधा ल्याउने गरेका छन्। जरिवाना छुटबाहेकका बिमितलाई आकर्षण गर्न बिमित कम्पनीहरुले नयाँ कुनै योजना ल्याएका छैनन्। पुरानै शैलीलाई निरन्तरता दिँदा जरिवानामा लाग्ने छुट समेत बिमितले प्रयोग गर्न छोडेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad