राजस्व तथा साँवा ब्याज बक्यौता अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब बढीको राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको छ। महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले आर्थिक बर्ष २०८०/८१ सम्म अर्थमन्त्रालय र सो मातहतका निकायले विभिन्न संघसंस्थाहरूबाट ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको उल्लेख गरेको हो।
सोमध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेकोमा १ खर्ब २३ अर्ब ८० करोड अर्थात ४८.७३ प्रतिशत बक्यौता न्यायीक निकायमा विचाराधीन रहँदा असुल हुन नसकेको देखिन्छ।
करदाताहरू न्यायीक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायीक निकायमा विचाराधीन रहेको देखिएको प्रतिवेदनले उल्लेख गरेको छ।
नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ब्याजअन्तर्गत १ खर्ब ८१ अर्ब १८ करोड असुल गर्न बाँकी छ। जसमा नेपाल विद्युत् प्राधिकरणको १ खर्ब २४ अर्ब ४ करोड रकम बक्यौता बाँकी देखिएको हो ।
योबाहेक हाल सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख सावाँ तथा ५ संस्थानको २४ करोड ६४ लाख ब्याज बापतको रकम पनि मन्त्रालयले असुल गर्न सकेको छैन।
प्रतिवेदनले स्थानीय तहमा पनि ठूलो रकम असुल हुन बाँकी रहेको देखाएको हो। जसमा १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा साँवाबापतको १ अर्ब १८ करोड ३० लाख र सो को ब्याजबापतको १ अर्ब ७७ करोड ३८ लाख रकम बक्यौता रहेको छ।
Shares

प्रतिक्रिया