कारोबार


नेपाल-भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागि निक्की र एसोचेमयुपीबीच सम्झौता

नेपाल-भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागि निक्की र एसोचेमयुपीबीच सम्झौता

नेपालखबर
असार २४, २०८२ मंगलबार १८:३, काठमाडौँ

नेपाल र भारतबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनको लागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यका उद्योग वाणिज्य संघ (एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्ड -एसोचेमयुपी)ले सोमबार एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन्।

समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनिल केसी र एसोचेमयूपीका अध्यक्ष ई डीपी सिंहले हस्ताक्षर गरेका हुन्। यस समझदारीपत्र दुबै चेम्बरबीच व्यापार, कृषि, लगानी तथा सीमापार व्यवसाय प्रवर्द्धनका क्षेत्रमा सहकार्य संस्थागत गर्ने उद्देश्यले गरिएको निक्कीले जनाएको छ।

समझदारीपत्रका अनुसार दुबै संस्थाले व्यापार प्रतिनिधिमण्डल आदानप्रदान, जानकारी साझा गर्ने, संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधि सँगसँगै अगाडि बढाउनेछन्। यसअन्तर्गत दुवै पक्षले एक अर्काको देशमा आयोजना हुने व्यापारिक भ्रमण, लगानी सम्मेलन, मेला तथा प्रदर्शनीमा व्यवसायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समझदारीअनुसार, निक्की नेपालमा एसोचेमयूपीको साझेदार संस्था हुनेछ भने भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा एसोचेमयूपीले साझेदारको रुपमा काम गर्नेछ।

सम्झौतापछि निक्की अध्यक्ष सुनिल केसीले भने, “यो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण, र परस्पर आर्थिक चासो भएका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ प्रकाशन आदानप्रदान जस्ता पहलहरू पनि समेट्नेछ।”

त्यस्तै, एसोचेमयूपीका अध्यक्ष ई डीपी सिंहले भने, “दुवै पक्षले व्यापार र लगानीसँग सम्बन्धित गैर गोप्य विवरण र प्रकाशनहरू नियमित रूपमा साझा गर्नेछन्।”

सन् १९९३ मा प्रभाकर राणाको अगुवाइमा स्थापना भएको निक्की एक द्विपक्षीय, गैर नाफामुखी संस्था हो, जसले नेपाल र भारतबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धनमा काम गर्दै आएको छ। यसले ऊर्जा, पर्यटन, पूर्वाधार, उद्योग लगायतका क्षेत्रहरूमा रणनीतिक साझेदारी र क्षेत्रगत सहकार्यलाई सहज बनाउँदै आएको छ।

यो सम्झौता नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक अन्तरनिर्भरतालाई थप मजबुत बनाउने औपचारिक कदमको रुपमा रहेको छ। दुबै संस्थाले सीमापार व्यवसायले भोगिरहेका समस्याहरू समाधान गर्न र सम्भावनायुक्त क्षेत्रमा सहकार्य गर्न प्रतिबद्धता जनाएको पनि निक्कीको भनाइ छ।

“यस सम्झौतासँगै दुबै चेम्बरले द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्न सहकार्य गर्नेछन्, र सदस्यहरूले पनि यो अभियानमा सक्रिय सहभागिता जनाउनेछन्,” निक्की अध्यक्ष केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad