कारोबार


सञ्चार प्रवक्ता ठाकुर भन्छन्- हाम्रो पात्रो दर्ता प्रक्रियामा गइसक्यो, एक्स पनि सम्पर्कमा

सञ्चार प्रवक्ता ठाकुर भन्छन्- हाम्रो पात्रो दर्ता प्रक्रियामा गइसक्यो, एक्स पनि सम्पर्कमा

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:०, काठमाडौँ

सरकारले बिहीबारदेखि विभिन्न २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाएसँगै केही कम्पनीहरूले सूचीकरणका लागि सम्पर्क गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता  गजेन्द्र कुमार ठाकुरले अहिलेसम्म दुई वटा कम्पनी मात्रै सम्पर्कमा आएको र एउटाको दर्ता प्रक्रिया नै अघि बढिसकेको छ। 

'सूचीकरणका लागि आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि ती सामाजिक सञ्जाल कम्पनीहरू सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो। यो बिहीबारदेखि नै लागू भइसकेको छ केही लागू हुने प्रक्रियामा छन्,' उनले नेपालखबरसँग भने, 'हाम्रो पात्रोले बिहीबार नै दर्ताका लागि जानकारी माग गरेको थियो। आज (शुक्रबार) आवश्यक कागजात पनि बुझाइसकेको छ। अब यो दर्ताको प्रक्रियामा गइसक्यो। मन्त्रालयले हाम्रो पात्रोबारे दूरसञ्चार प्राधिकरणलाई पनि जानकारी गराइसकेको छ।' 

अन्य कुन कुन सामाजिक सञ्जाल कम्पनी दर्ताका लागि आए भन्ने प्रश्नमा एक्स सम्पर्कमा मात्रै आएको बताए। 

'एक्स सम्पर्कमा आएको छ। उसले अफिसियल इमेल लेखेर केके डकुमेन्ट बुझाउनुपर्छ भनेर सोधेको थियो। हामीले आवश्यक कागजातको विवरण खुलाएर इमेल रिप्लाइ पठाइसकेका छौँ' उनले थपे। 
 

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक पत्र लेखेको थियो। सोहीअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले फेसबुक, ह्वाट्सएप, एक्ससहितका सामाजिक सञ्जाल बन्द गर्न भनेको थियो। अहिले नेपालमा क्रमश:ती सञ्जालहरू बन्द हुँदै गइरहेका छन्। 

कागजात बुझाएपछि के भन्छिन् हाम्रो पात्रोकी निर्देशक? 
मन्त्रालयका अनुसार हाम्रो पात्रो दर्ता प्रक्रियामै गइसकेको छ। सरकारले आवश्यक कागजातसहित विवरण उपलब्ध गराएपछि उक्त सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा हुने जनाइसकेको छ। 

हाम्रो पात्रोले बिहीबार आवश्यक कागजातका बारेमा निवेदन दिएको र आज शुक्रबार सबै कागजात बुझाएको जनाएको छ। 

'उहाँहरूले हामीलाई त्यत्तिकै दु:ख दिनु भयो थाहा नभएर। हाम्रो पात्रो त कहाँ सामाजिक सञ्जाल हो त?,' सामाजिक सञ्जाल होइन भन्ने तर त्यही निर्देशनअनुसार दर्ता गरेपछि त तपाईंहरू सामाजिक सञ्जालमै पर्नु भयो होलानि भन्ने प्रश्नमा निर्देशक सुदीना गौतमले भनिन्, 'सामाजिक सञ्जाल भनेको त दुई व्यक्ति एकअर्कासँग कुरा गर्न सक्ने भन्ने बुझिन्छ। त्यो हामीसँग थिएन। हामी त यो सुरु गर्ने तयारीमा चाहिँ थियौँ त्यही अनुसार दर्ताको पनि प्रक्रिया सुरु गर्ने भन्नेमै थियौँ। हामीले च्याट पनि ल्याएर आउँदैछौँ अब।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad