कारोबार


काठमाडौँका बजारमा तिहारको किनमेल गर्नेको घुइँचो

काठमाडौँका बजारमा तिहारको किनमेल गर्नेको घुइँचो

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार ५:४२, काठमाडौँ

तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले  किनमेल गर्नेको चहलपहल बढेको छ। 

यस पटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन्। 

राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ। 

उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइमसला, अमला, ढाका टोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी भाइकाजी मर्हजनले बताए। 

उनले भने,  ‘अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि सामग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो।’

यसैगरी तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ। 

विशेष गरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुनधारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आउनुभएकी शान्ति भुजेलले बताइन् । उनले भनिन,   ‘नयाँ लुगा किन्ने तथा झिलिमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ।’

भाइटीकाको दिनमा प्रयोग हुने भाइमसला प्याक, ढाका टोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठले बताए। उनले भने,  ‘अहिले विशेष गरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाका टोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ।’

चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन्। अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad