कारोबार


भारतले भन्यो: कच्चा तेल पर्याप्त छ, ग्यास मौज्दात सकिएको छैन

भारतले भन्यो: कच्चा तेल पर्याप्त छ, ग्यास मौज्दात सकिएको छैन

ग्याससहित सबै पेट्रोलियम पदार्थ नेपालमा भारतबाट आयत हुन्छ। उताको आपूर्ति प्रणाली तलमाथि हुँदा यता असर पर्छ।


नेपालखबर
फागुन ३०, २०८२ शनिबार ८:५४, काठमाडौँ

इरान युद्धका कारण पेट्रोलियम पदार्थ अभाव भइरहेको भन्ने चर्चा बढिरहँदा भारत सरकारले पेट्रोल र डिजेलको कुनै अभाव नरहेको जनाएको छ।

खाना पकाउने ग्यासमा केही दबाब रहेको भन्दै 'आतङ्कित' नहुन र घरमा धेरै सिसिन्डिर नथुपार्न आग्रह गरेको छ।

देशभरि २५ हजार वितरक रहेको र अहिलेसम्म कसैले पनि ग्यास सकियो नभनेको केन्द्रीय सरकारले स्पष्ट पारेको हो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट इन्डियाका अनुसार पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले एलपीजीको चाप कम गर्न वैकल्पिक व्यवस्था गरिरहेछ। इन्धन वितरणमा सन्तुलन बनाउन मट्टितेलको आपूर्ति बढाउने र कोइलाको व्यवस्था गरी ग्यासको माग कम गर्ने रणनीति अघि सारेको छ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्मा भन्छिन्, 'कच्चा तेलको सवालमा हामीसँग २५८ मिलियन मेट्रिक टनको रिफाइनिङ क्षमता छ। रिफाइन गरिएको पेट्रोल र डिजेल उत्पादनमा हामी आत्मनिर्भर छौँ, त्यसैले अहिले चिन्ता गर्न आवश्यकता छैन।'

सबै रिफाइनरीहरू सत प्रतिशत क्षमतामा चलिरहेको उनले जानकारी दिएकी छिन्। पेट्रोलिय पदार्थ अभावबारे अवास्तविक हल्ला फैलिएपछि भारतको केन्द्रीय सरकारका तीन मन्त्रालयले पत्रकार सम्मेलन गरेर पनि यसबारेमा थप स्पष्ट पारेका छन्। 

'कच्चा तेलको पर्याप्त भण्डार छ र आपूर्ति नियमित छ। डोमेस्टिक पीएनजी र सवारी साधनका लागि सीएनजीको आपूर्ति कटौती नगरी सुनिश्चित गरिँदैछ। आत्तालिनुपर्ने कुनै आवश्यकता छैन', उनले भनेकी छिन्।

एलपीजी अभावको कारण
खाना पकाउने ग्यास अभावबारे उनले भनिन्, 'हाम्रो आयात हुने तेलको ठूलो हिस्सा हर्मुज जल डमरू (स्ट्रेट अफ होर्मुज)बाट आउँछ। त्यहाँको अवरोधका कारण एलपीजीको विषयमा केही चिन्ता देखिएको हो।' भारतभर करिब २५ हजार ग्यास वितरकहरू छन्।

अहिलेसम्म मौज्दात सकियो भन्ने रिपोर्ट कतै नभएको उनले दाबी गरिन्। भनिन्, 'हाम्रो औसत बुकिङ दैनिक ५०-५५ लाख सिलिन्डर हुन्छ तर पछिल्ला केही दिनमा त्यो बढेर ७५-७६ लाख पुगेको छ। यो 'प्यानिक बुकिङ' हो। कृपया यसो नगर्नुहोस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad