नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) द्वारा आयोजित ‘स्टार्टअप संवाद’ले नेपालको स्टार्टअप इकोसिस्टमलाई गति दिन नीतिगत कमी र पूर्वाधार आवश्यक देखिएको ठहर गरेको छ।
शुक्रबार काठमाडौँमा सम्पन्न ‘स्टार्टअप संवाद राउन्डटेबल’मा उदीयमान नव उद्यमी युवा, शैक्षिक क्षेत्रका नेतृत्वदायी प्रतिनिधि तथा उद्योग वाणिज्य क्षेत्रका विज्ञसहितका विविध समूहले नेपालको ‘स्टार्टअप क्षेत्रको वास्तविकता’को विश्लेषण गर्दै यसमा क्षेत्रमा चेतना अभिवृद्धि पैरवी तथा संस्थागत सहयोगका लागि मार्गचित्र तय गर्नेबारे छलफल गरे।

स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका संयोजक तथा उपाध्यक्ष कुणाल कयालको अध्यक्षतामा भएको राउन्डटेबल छलफलमा संघले युवा विदेश पलायन हुने क्रम कम गर्न स्वदेशमै सशक्त उद्यमशील वातावरण निर्माण गर्न गरेका योजना तथा प्रयासको निरन्तरता रहेको जानकारी गरायो।
छलफलमा सहभागीहरूले स्टार्टअपको विकासमा बाधा पहिचान गर्दै मुख्य मुद्दामा विशेष गरी नेपालमा यस क्षेत्रको विकासमा स्वरूपीय पूर्वाधार र खरिद प्रणालीसँग सम्बन्धित विषय बाधक बनिरहेको बताए।
स्टार्टअपहरूले अर्को महत्त्वपूर्ण विषयका रूपमा कुनै पनि स्टार्टअपले विकास गरेका उत्पादनको परीक्षण प्रयोगशाला तथा अनुसन्धान पार्कको अभाव गम्भीर रहेको बताए। एग्रो रेन्ज नेपालका सुवास पाण्डे र दियो एआई का विजय भट्टराईले सरकारी खरिद प्रक्रियामा प्रायः आयातीत वस्तुलाई प्राथमिकता दिइने गरेको उल्लेख गर्दै स्थानीय नवप्रवर्तनलाई प्राथमिकता दिने नीतिगत परिवर्तनका लागि पहल गरिदिन माग गरे।
नवउद्यमी युवाहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न कठिनाइ हुने र विदेशी लगानी नेपालमा ल्याउने प्रक्रियामा जटिलता रहेको बताए। बौद्धिक सम्पत्ति (आईपी) र पेटेन्ट सुरक्षालाई अझ बलियो बनाउनु आवश्यक रहेको कुरा पनि उनीहरूले दोहोर्याए।
नेपाली नवयुवा उद्यमीहरूले अन्तरिक्ष प्रविधि (स्पेस टेक्नोलोजी) मा समेत काम गर्दै गरेको भए तापनि त्यसका लागि विशेष सामग्री खरिद गर्नुपर्ने कठिनाइदेखि नेपालमा आईटी सेवालाई विलासिता ठान्नेसम्मका विषयमा स्टार्टअपहरूले सरकारी निकाय स्वदेशी समानहरूको प्रारम्भिक ग्राहक प्रयोगकर्ता बन्नुपर्ने आवश्यकता औँल्याए।
निक्कीका उपाध्यक्ष गौरव तयालले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा नवप्रवर्तनकर्ताहरूको सशक्त समूह भए पनि उनीहरूलाई सफल हुन संरक्षित मेन्टरसिप र सरल एक्जिट प्रणाली आवश्यक रहेको बताए।
छलफलमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मैनेजमेन्ट (कुसुम) का एसोसिएट प्रोफेसर रोशी लामिछाने तथा नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप समितिका संयोजक जुना माथेमा तथा नेपाल उद्योग परिसंघका स्टार्टअप समितिका संयोजक अनुराग गोयललगायत प्रतिनिधिहरूले इकोसिस्टमभित्रका विविधि खण्डबारे अनुभव सुनाए।
नेपालमा स्टार्टअप प्रवर्द्धनका लागी विभिन्न इनक्युबेसन केन्द्र तथा कार्यक्रम भए पनि ती प्रायः निश्चित संस्थाभित्र मात्र सीमित रहेको गुनासो कार्यक्रममा सहभागीहरूले गरे।
निक्कीका स्टार्टअप समितिका सदस्य सन्दीप कामतले सिंगापुर र बैंगलोरका सफल इकोसिस्टमसँग तुलना गर्दै नेपालले आफ्नो प्रवासी समुदायको अनुभव राम्रोसँग उपयोग गर्न र शैक्षिक संस्था तथा उद्योगबिच अझ सशक्त सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिए।
यस्तै आध्यन्ताका निश्चल सिंह भण्डारीले ‘लगानीका तयारी’का विविध अन्तरबारे चर्चा गर्दै धेरै स्टार्टअपहरूले इक्विटी लगानी आकर्षित गर्नुअघि आफ्नो वित्तीय संरचना अझ व्यवस्थित बनाउनुपर्ने बताए।
कार्यक्रमको समापन गर्दै निक्कीका उपाध्यक्ष कुणाल कयालले छलफलका क्रममा उठाइएका विषय तथा निष्कर्षलाई नीतिगत तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा नियामक अवरोधदेखि बजारको विश्वाससम्मका विषयले यस क्षेत्रको विकासमा पैरवीका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने उनले बताए।
साथै उनले निक्कीले नेपाल-भारत व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउँदै हाम्रा स्टार्टअपहरूको क्षमता विस्तार गर्न र ‘भिजन २०३०’को खाका निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी स्टार्टअपहरूले हालै भारत सरकारद्वारा भारतको आईआइटी मद्राससमा आयोजित विशेष तालिम तथा मेन्टरसिप कार्यक्रममा सहभागिता जनाएका थिए।
Shares

प्रतिक्रिया