नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै गोल्छाले श्रेष्ठ एक प्रभावशाली र शाहसी उद्यमी भएको बताए। गोल्छाले महासंघमा नेतृत्व परिवर्तनको नयाँ परिपाटी शुरु हुन लागेको सन्दर्भमा अब आउने नेतृत्वलाई बलियो बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गरे।
उनले अध्यक्षलाई सफल बनाउन उनले चाहेको सहयात्रीहरू (टिम) हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘अञ्जनजी एकदमै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ। एउटा डेयरिङ्ग उद्योगी व्यवसायी हुनुहुन्छ। उहाँले नयाँ नयाँ क्षेत्रमा प्रवेश गरेर आफूलाई सफल व्यवसायीको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँको कार्यकाल महासंघका लागि अभूतपूर्व हुनेछ। नयाँ सरकार बन्दा प्रधानमन्त्रीले आफूले रोजेका मन्त्रीहरु पाएपछि मात्र कार्यकाल सफल हुन्छ। त्यस्तै, अञ्जन जीलाई सफल अध्यक्ष बनाउन उहाँले चाहनुभएको टिमलाई जिताएर ल्याउन म सबैलाई आग्रह गर्दछु।’
गोल्छाले लामो समयपछि देशभरका उद्योगी व्यवसायी साथीहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको समेत बताए।
महासंघको विधानअनुसार ६०औँ साधारणसभाबाट श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्।
Shares

प्रतिक्रिया