भारतीय नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको पर्यटन क्षेत्रलाई महँगा पर्यटक भित्र्याउने गरी ब्रान्डिङ गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रः सम्भावनाको उजागर’ विषयक विचार गोष्ठीलाई सम्बोधन कान्तले पर्यटन क्षेत्रलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाललाई ‘बजेट ट्रेकिङ गन्तव्य’ बाट माथि उठाएर ‘लक्जरी’ गन्तव्यका रूपमा विकास गर्न सुझाए।
‘नेपाल जस्तो अद्वितीय पर्यटकीय क्षेत्रलाई कम मूल्यमा बेच्नु हुँदैन। प्रतिरात कम्तीमा १५०० डलर खर्च गर्ने पर्यटक भित्र्याउने गरी पूर्वाधार र ब्रान्डिङ गरिनुपर्छ,’ कान्तले भने।
यसका लागि राज्यले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। ‘धेरै इजाजतपत्र, धेरै निरीक्षण र कर्मचारीतन्त्रको स्वविवेकीय अधिकारले भ्रष्टाचार बढाउँछ। सरकारले नियन्त्रक होइन, सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘नेपाललाई व्यवसायका लागि विश्वकै सजिलो देश बनाउनुपर्छ।’
उनले नेपालको आर्थिक समृद्धिका लागि शाहसिक नीतिगत सुधार, डिजिटल पूर्वाधारमा लगानी र उच्च मूल्यको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। नेपाललाई आगामी तीन दशकसम्म वार्षिक ९ देखि १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्न सुझाव दिए।
एक दशकअघि भारत विश्वका पाँच कमजोर अर्थतन्त्र (फ्रजाइल फाइभ) मध्ये एक रहेको स्मरण गर्दै कान्तले संरचनागत सुधार, व्यापक डिजिटलाइजेसन र पूर्वाधार निर्माणका कारण आज भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको बताए। नेपालका लागि पनि यी अनुभव सान्दर्भिक हुनसक्ने उनको भनाइ थियो।
कान्तले नेपालको भौगोलिक जटिलतालाई चिर्न डिजिटल पूर्वाधार सबैभन्दा प्रभावकारी माध्यम हुने बताए। भारतले ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ मार्फत ७१० भन्दा बढी सरकारी योजनाको लाभ सिधै सर्वसाधारणको बैंक खातामा पुर्याई भ्रष्टाचार र चुहावट शून्यमा झारेको उदाहरण दिए।
नेपालले पनि टेलिकम र आईटी क्षेत्रलाई प्राथमिकता दिँदै ‘फाइभ–जी’ प्रविधिमा फड्को मार्नुपर्ने र यसले स्वास्थ्य, शिक्षा र रोजगारीमा आमूल परिवर्तन ल्याउने उनको भनाइ थियो। नेपालको विकासमा वाधक रहेका पुराना ऐन, नियम र झन्झटिला प्रक्रियाहरू खारेज गर्न उनले ‘रेगुलेटरी गिलोटिन’को अवधारणा अघि सारे।
Shares

प्रतिक्रिया