सल्यानको जिल्ला प्रहरी कार्यालय परिसरभित्र विभिन्न ८६ थान बम फेला परेका छन्।
शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा बम फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेपछि थप उत्खनन गरिएको बताए।
‘जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाएर नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले थप उत्खनन गर्दा ८६ थान बम फेला पर्यो,’ डीएसपी केसीले भने, ‘तीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम छ।’

उत्खननका क्रममा सात वटा रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई किलोग्राम सामग्री र १० मिटर फायरिङ केबल समेत फेला परेको उनले जानकारी दिए।
फेला परेका बमलाई नेपाली सेनाको प्राविधिक टोलीले सुरक्षित रुपमा डिस्पोज गरिएको डीएसपी केसीको भनाइ छ। फेला परेका विष्फोटक सामग्री सशस्त्र युद्धका समयमा नेकपा (माओवादी) बाट बरामद गरी राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।
Shares

प्रतिक्रिया