कारोबार


नेपाल–चीन कृषि सहकार्य : खोकनामा शिलान्यास भयो ‘छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’

नेपाल–चीन कृषि सहकार्य : खोकनामा शिलान्यास भयो ‘छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:५२, काठमाडौँ

नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा रूपान्तरण ल्याउने उद्देश्यका साथ ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ को निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। 

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, चिनियाँ दूतावासका प्रतिनिधि यू पेङचेङ र चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले आइतबार एक विशेष समारोहका बीच संयुक्त रूपमा केन्द्रको शिलान्यास गरेका हुन्।

यो केन्द्रको स्थापनासँगै खोकना अब परम्परागत कृषिबाट आधुनिक र व्यावसायिक कृषिको अन्तर्राष्ट्रिय नमुना केन्द्र बन्ने दिशामा अग्रसर भएको छ।

सो अवसरमा ‘२०२६ तरकारी प्राविधिक तथा उच्च प्रविधि उपकरण प्रयोग तालिम कार्यक्रम’ को समेत औपचारिक शुभारम्भ गरिएको छ। 

चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहल अन्तर्गत सञ्चालित यो परियोजनाले खोकना र दक्षिणकालीलाई कृषि आधुनिकीकरणको नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

समारोहलाई सम्बोधन गर्दै  ग्लोबल कोअपरेसन फर डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनीले यस क्षणलाई नेपाली कृषिको भविष्यका लागि एउटा ‘ऐतिहासिक र जीवन्त प्रतिबद्दता भएको बताए।

यो केन्द्र इँटा र सिमेन्टको संरचना मात्र नभई नेपाली किसान, विशेषगरी महिला र युवाहरूका लागि जलवायु–मैत्री प्रविधि, आधुनिक ग्रीनहाउस, एकीकृत शत्रुजीव व्यवस्थापन र फसल उप्रान्तको प्रशोधन विधि सिक्ने एउटा स्थायी साझा मञ्च हुने उनको भनाइ छ।

"बिउले यो सोध्दैन कि ऊ चिनियाँ हो कि नेपाली; उसलाई त केवल राम्रो माटो, पानी र हेरचाह चाहिन्छ," मरासिनीले भने, "आज हामीले चीन–नेपाल मित्रताको पानीले यो माटो तयार गरेका छौँ।"

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतको विशिष्ट उपस्थिति रहेको थियो ।
स्थानीय तहमा ग्रामीण रूपान्तरणका लागि यो साझेदारी महत्त्वपूर्ण हुने उनीहरुको भनाइ छ।

हाल खोकना र दक्षिणकालीमा उत्पादित ताजा तरकारीहरू स्थानीय बजारमा मात्र सीमित नभई कतारसम्म निर्यात हुन थालेका छन्। चिनियाँ विशेषज्ञहरूको प्रत्यक्ष प्राविधिक रेखदेखमा सञ्चालित यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ।

समारोहको आकर्षणका रूपमा स्थानीय खोकना चिल्ड्रेन्स क्लबका विद्यार्थी र कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य रहेको थियो, जसले कृषि र संस्कृति एउटै जराबाट पलाउने सन्देश दिएको थियो। सोही अवसरमा आयोजित प्रदर्शनीमा स्थानीय महिला समूहहरूले आफ्नै हातले बुनेका जुत्ता, स्थानीय मिठाई र परियोजना अन्तर्गत फलाइएका ताजा तरकारीहरू प्रदर्शन गरेका थिए। 

मुख्य अतिथि मन्त्री पौडेलले तालिम केन्द्रले किसानको प्राविधिक ज्ञान बढाउन र रोजगारी सिर्जना गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। त्यस्तै, चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यो सहकार्यले नेपाल–चीन बीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने बताइन। कार्यक्रममा वडा अध्यक्षहरू, प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू, कृषि अधिकारीहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विगत एक वर्षमा चीन फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालन जस्ता परियोजनाहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

शिलान्यास समारोहपश्चात् अतिथिहरूले सामूहिक तस्बिर खिचाउँदै निर्माणाधीन केन्द्र र तरकारी फार्मको निरीक्षण गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad