पछिल्लो समय सरकारले समयमै काम नगर्ने ठेकेदारविरुद्ध पक्राउ थालेपछि महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
पछिल्ला केही दिन यता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरुलाई पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र/बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्चपदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यावसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको महासंघको भनाइ छ।
यसका साथै आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा आधारित बैंकको कर्जा असुली गरेको कारणबाट बैंकका कार्यकारी अधिकृतको पक्राउले बैंकिङ्ग क्षेत्रको साखमा नै असर पर्न सक्ने महासंघले चेतावनी दिएको छ।
‘यसका साथै बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाह सम्बन्धि गरिने निर्णय क्षमतामा पनि प्रभाव पर्ने तथा लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्न जाने देखिन्छ’ , महासंघले भनेको छ, ‘सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अगावै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्ने जस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीहरुको मान प्रतिष्ठामा समेत आँच पुग्न जाने हँुदा यस्ता अनुसान्धान गोप्य रुपमा गर्न र उद्योगी व्यवसायी माथी देवानी दायित्व सिर्जना हुने मुद्धाको छानविन, अभियोजन सोही अनुरुप गर्न महासंघ आग्रह गर्दछ।’
नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह भनिएको हो।
विगत करिब चार वर्षदेखि शिथिल बन्दै गईरहेको अर्थतन्त्र हालै बनेको करिब दुई तिहाइको सरकारले लिने नीति र व्यवसायीमैत्री व्यवहारपछि गतिशिल बन्ने अपेक्षा निजी क्षेत्रले गरेको विज्ञप्तिमा उल्लेख छ।
‘तर, यस्ता गतिविधिले लगानी अभिबृद्धि हुने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना सहित महासंघ व्यवसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न सरकारसंग अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया